एटो-३ एड्भान्स माथि भारी पर्ला एमजी एस-५, के भन्छ तथ्यांक ?

काठमाडौं । केही वर्ष अगाडि पेट्रोल कारमा देखिएकोभन्दा कडा टक्कर अहिले विद्युतीय कारमा देखिएको छ । पारामाउन्ट मोटर्सले अघिल्लो महिना बुकिङ खुला गरेसँगै बजारमा रहेका एकसे एक प्रतिस्पर्धी माथि एस-५ क्रसओभर भारी पर्ने देखिएको छ ।

विगत २ वर्षदेखि बजारमा एकछत्र राज गरिरहेको एटो-३ को एड्भान्स भर्सनलाई टक्कर दिनेगरी मूल्य कायम भएर एस-५ लग्जरी लङ रेन्ज मोडल बजारमा उपलब्ध भएको छ । धेरैले यसलाई सेग्मेन्ट किलर एसयूभीको रूपमा लिएको विभिन्न फोरमहरूमा सुन्न पाइन्छ ।

बलियो सोसल मिडिया रहेको समयमा उपभोक्ताले गरेका कमेन्टबाट पनि एस-५ ले एटो-३ लाई मात्रै नभएर सेरेस, केई, क्रेटा ईभी, ओमोडा ई-५ र बीवाइडी एटो-३ एड्भान्सलाई सिधा टक्कर दिएको आभास हुन्छ । यस्तोमा हामीले यी दुई प्रोडक्टलाई यहाँ तुलना गरेका छौं ।

मूल्य

सबैभन्दा पहिला यी दुई बीचको मूल्यलाई हेरौं । बीवाइडीले एटो-३ एड्भान्सको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । गत असारदेखि नै एटो-३ को मूल्य यही हो । यसमा थपघट भएको छैन ।

एमजीले एस-५ लग्जरी लङ रेन्जको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसका मतलब मूल्यमा एटो-३ को तुलनामा एस-५ सस्तो छ । ग्राहकले १ लाख ९१ हजार रुपैयाँ कममा एस-५ किन्न पाउँछन् ।

ब्याट्री, मोटर, रेन्ज र चार्जर

मूल्यमा झण्डै २ लाखको अन्तर देखिएका यी दुई गाडीको ब्याट्रीमा पनि फराकिलो अन्तर छ । बीवाइडीले ४९.९२ किलोवाट आवरको ब्लेड ब्याट्री दिएको छ । एमजी एस-५ मा भने ६२.२ किलोवाट आवरको विश्वकै पातलो ब्याट्री पाउन सकिन्छ ।

मोटरको मामलामा एटो-३ केही अगाडि छ । एटो-३ मा १०० किलोवाट र एस-५ मा ९९ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । टर्क पनि एटो-३ को धेरै छ । यसले ३१० न्युटन मिटर टर्क जेनेरेट गर्छ । एमजी एस-५ को अधिकतम टर्क २५० न्युटन मिटर छ ।

ब्याट्री ठूलो भएसँगै स्वभाविक रूपमा रेन्ज धेरै हुने भयो । एमजी एस-५ मा ६२.२ किलोवाटको ब्याट्री भएको कारण यसको डब्लूएलटीपी रेन्ज ४३० किलोमिटर छ । एटो-३ एड्भान्सको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर छ ।

एसी चार्जर सपोर्टको मामलामा दुवैले समान ७ किलोवाटको चार्जर सपोर्ट गर्छ । जबकि डीसी चार्जर सपोर्टको कुरामा भने एमजी एस-५ निकै अगाडि छ । एमजीले १५० किलोवाट र बीवाइडीले ८० किलोवाटको डीसी चार्जर सपोर्ट गर्छ ।

साइजमा कति फरक ?

यी दुई कारमा साइज भने लगभग उस्तै छ । एमजी एस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९, उचाइ १६२१ एमएम र ह्वीलबेस २७३० एमएम छ ।

बीवाइडी एटो-३ को लम्बाइ ४४५५ एमएम, चौडाइ १८७५ एमएम, उचाइ १६१५ एमएम र ह्वीलबेस २७२० एमएम छ । चौडाइमा एस-५ भन्दा एटो-३ २६ एमएम फराकिलो छ । अन्यमा एस-५ अगाडि देखिन्छ ।

नेपालमा धेरैले महत्व दिइने ग्राउण्ड क्लियरेन्स पनि हो । यी दुई एसयूभीमा ग्राउण्ड क्लियरेन्स ५ एमएमको फरक छ । एमजीले १८० एमएम र एटो-३ ले १७५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको दाबी गरेका छन् ।

यी दुई कारमा ह्वील साइज पनि १ इन्च फरक छ । एस-५ मा १८ इन्चको ह्वील छ भने एटो-३ मा १७ इन्चको ह्वील पाउन सकिन्छ ।

अन्त्यमा

अन्य फिचरमा पनि थुप्रै भिन्नता पाउन सकिन्छ । क्याबिनको बनोट, सिट मेटेरियल, कम्र्फट जस्ता विषयमा पनि फरक छन् । दुवै एसयूभीमा एडास लेभल २ फिचर उपलब्ध छन् । बीवाइडी एटो-३ फ्रन्ट ह्वील ड्राइभ स्पोर्टी एसयूभी हो । एमजी एस-५ भने रियर ह्वील ड्राइभ स्पोर्टी एसयूभी हो ।

एटो-३ एड्भान्स मोडल झण्डै २ वर्षदेखि लगातार सफल मोडल हो । एमजीले भर्खरै बजारमा उतारेको एस-५ ले कस्तो धक्का दिन्छ वा खान्छ थाहा पाउन केही महिना कुर्नुपर्ने हुन्छ ।


Back_to_top