काठमाडौं । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएर कारवाहीमा परेकाले सचेतना क्लास घरमै बसेर लिन पाउने भएका छन् । विशेषगरी मापसे गरेका मानिस ट्राफिक प्रहरी कार्यालय गएर कक्षा लिन लजाउँथे, उनिहरुको लागि अनलाइन कक्षा सुरु हुन लागेको हो ।
उक्त अनलाइन कक्षा नागरिक एपमा उपलब्ध हुनेछ । अहिले ज्ञान बजार प्रालिको सहयोगमा नागरिक एप र नेपाल प्रहरी बीचको सहकार्यबाट अनलाइन कक्षा सुरु गर्न लागिएको हो ।
नयाँ वर्षको अवसर पारेर उक्त सेवा संचालनमा ल्याउन लागिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसका लागि अहिले सफ्टवेयर नागरिक एपमा लिङ्क गरेर आन्तरिक परीक्षण चलिरहेको छ ।
नागरिक एपमा ट्राफिकको सचेतना कक्षा लिन मिल्ने गरी प्राविधिक तयारी पुरा भएको ट्राफिक प्रहरीका एक अधिकृतले जानकारी दिए । नागरिक एपमा अनलाइन कक्षा लाइभ गर्न सकिने गरी अपडेट समेत पठाइ सकिएको बताइएको छ । अनलाइन कक्षाको सेवा नागरिक एपको अतिरिक्त नेपाल प्रहरीको एपमा पनि उपलब्ध हुनेछ ।
मापसेमा परेका ब्यक्तिको भेरिफाई नागरिक एपबाटै गरिने छ । सम्बन्धीत व्यक्तिको नाम र मोबाइल हालेर फेरिफाइ गर्न सकिन्छ । साथै, ट्राफिक प्रहरीले दिएको चीट नम्बर पनि प्रयोग गर्नु पर्ने हुन्छ ।
यसमा कक्षा लिनु पर्ने मानिस आफैँ अनलाइनमा बसेको छ वा छैन भन्ने कुरा ‘एआई डिटेक्सन प्रविधि’ले ६० सेकेन्ड भित्रै एकिन गर्नेछ । अनलाइन कक्षा लिएसँगै जरिवान तिरेपछि प्रक्रिया पुरा हुनेछ ।


