ईभी टेस्ट गर्ने थलो बन्यो, सच्याउनु पर्छ : सन्तोष कोइराला

काठमाडौं । नेपाल बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाले विद्युतीय सवारी साधन (ईभी)मा कर्जा लगानी बारे नेपाल राष्ट्र बैंक र राज्य दुवैले सोच्नुपर्ने अवस्था आएको बताएका छ्न् ।

मंगलबार नाडा अटोमोबाइल एशोसियसनले आयोजना गरेको ‘नाडा अटो डाइलग २०८१’ मा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

अहिले बैंकहरूले ठूलो रकम ईभीमा लगानी गरिरहेकाले भविष्यमा डिफल्ट हुने हो कि भन्ने बारे सोच्ने बेला भएको बताए ।

हालसम्म ईभीको डिफल्ट खासै नदेखिए पनि ईभीको संख्या बढदै जाँदा समस्या आउन सक्ने भएकाले बेलैमा नीति बनाएर सम्बोधन गर्नुपर्ने उनले बताए ।

‘पछिल्लो समय ईभीमा बैंकहरूले लगानी बढाइरहेका छ्न् । बैंकको सपोर्ट बिना ईभीको प्रमोसन सम्भव पनि छैन,’  उनले भने, ‘अब ईभीमा ऋण लगानी गर्दा बैंकहरुले पनि चासो राख्नु पर्छ । सचेत हुनुपर्छ ।’

प्यासेन्ज भेहिकलमा धेरै समस्या नआउने भए पनि कमर्शियलमा बढ्न सक्ने उनले बताए । ‘अहिले आइस भेहिकलको किस्ता नाअए बैंकले गाडीहरू तानेर राख्नुपर्ने अवस्था छ । ईभीमै अहिलेसम्म त्यस्तो समस्या देखिएको छैन । यस्तो अब भविष्यमा के होला भन्ने चिन्ता हो । यसमा पनि प्राइभेटमा कम समस्या हुन सक्छ । तर प्यासेन्जरमा भने समस्या आउने देखिन्छ,’ उनले भने ।

अहिले ईभी संचालन खर्च धेरै नभए पनि भोलि ब्याट्रीमा समस्या आउँदा ब्याट्री फेर्न महँगाे पर्ने भएकाले ईभीको लोन पनि डिफल्ट देखिन सक्ने उनले बताए ।’ बैंकले ७ वर्षको लोन दिन्छौं । वारेन्टी ५ वर्षको हुने । अनि २/३ वर्षमै ब्याट्री फेर्न पर्ने समस्या आयो भने बैंक फस्ने समस्या आउन सक्छ । यस्तोमा बैंकरहरूले चासो देखाएका छन । अब यस्ता समस्या सम्बोधन गर्ने नीति बनाउनु पर्छ । ढिला गर्न हुँदैन ।’

अहिले जसले पनि ईभीकाे व्यापार गरिरहेकाले निश्चित मादण्ड पूरा गर्नेलाई मात्रै ईभी बेच्न दिनु पर्ने कोइरलाकाे सुझाव छ । ‘विगतमा सबैले रियल स्टेट, शेयरमा लगानी गर्ने ट्रेन्ड थियो । अहिले सबैले ईभी ल्याएर बेचिरहेका छ्न् । ईभी टेस्ट गर्ने थलो जस्तो देखिएको छ,’ कोइरालाले भने  ‘ब्याट्री व्यवस्थापन, चार्जिङ स्टेसन, ब्याट्री रिप्लेसिङ कस्ट, मर्मत गर्ने प्राविधिक जनशक्ति, ब्रान्ड भ्यालु जस्ता विषयमा पनि उपभोक्ता जागरुक हुनुपर्छ ।’


Back_to_top