सरकारले ट्याक्सीमा लागू गर्यो नयाँ मापदण्ड, अब यस्ता गाडी मात्र दर्ता हुने

काठमाडौं । सरकारले ट्याक्सीमा नयाँ मापदण्ड लागू गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबारदेखि ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रालयले ‘मिटर जडित ट्याक्सीको मापदण्ड २०७६ खारेज’ गर्दै यातायात व्यवस्था विभागले तयार पारेको नयाँ मापदण्ड स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो ।

नयाँ मापदण्ड अनुसार ट्याक्सीलाई साधरण, विशेष (डिलक्स) र विशिष्ट (लग्जरी) गरी ३ वर्गमा विभाजन गरिएको छ ।

नयाँ मापदण्ड अनुसार साधरण ट्याक्सीमा दर्ता हुने सवारी साधन पेट्रोलबाट चल्नेको हकमा कम्तीमा १ हजार सीसीभन्दा (१.५ प्रतिशतसम्म कम) बढी क्षमताको हुनुपर्नेछ । यसअघि विभागले तयार पारेको मापदण्डको मस्यौदामा भने ८०० सीसी क्षमताकै गाडी ट्याक्सीको रूपमा दर्ता गर्ने सक्ने प्रस्ताव गरेको थियो । तर, मन्त्रालयले त्यसलाई संशोधन गर्दै १ हजार सीसी पुर्याएको हो ।

विद्युतीय सवारी (ईभी)को हकमा ४० किलोवाट वा सोभन्दा बढी क्षमताका मोटर भएका गाडी मात्रै ट्याक्सीको रुपमा दर्ता हुने छन् । त्यस्तै, कम्बस्चन र ईभी दुवै ट्याक्सीमा ६५ न्युटन मिटर टर्क जेनेरेट गर्ने इन्जिन वा मोटर, २३०० ह्वीलबेस र १६० लिटरको बुटस्पेश भएको हुनुपर्नेछ ।

त्यसैगरी, डिलक्स ट्याक्सीमा दर्ता हुने सवारी पेट्रोलको हकमा १२०० सीसी र ईभीको हकमा ५० किलोवाटको मोटर हुनुपर्नेछ । दुवैमा ८० न्युटन मिटर टर्क जेनेरेट गर्ने इन्जिन वा मोटर, २५०० ह्वीबेस र २०० लिटर बुट स्पेश हुनुपर्नेछ । साथै, टच स्क्रीनसहितको डिस्प्ले, विद्युतीय स्वीचबाटै झयाल खोल्न र बन्द गर्न सकिने, एसी हुनुपर्नेछ ।

त्यस्तै, लग्जरी ट्याक्सीमा दर्ता हुने पेट्रोलबाट चल्नेको हकमा कम्तीमा २ हजार सीसी वा सोभन्दा बढी र ईभीको हकमा १०० किलोवाट क्षमताको मोटर हुनुपर्नेछ । त्यसैगरी, १७० न्युटन मिटर टर्क, २७०० ह्वील बेस, ४०० लिटरको बुट स्पेश हुनुपर्नेछ ।

साथै, लग्जरी ट्याक्सीमा स्वीचबाटै अन अफ गर्न सकिने झ्याल, एसी, पछाडिको सिटमा हेडरेष्ट र आर्मरेष्ट, कप होल्डर, मोबाइल चार्ज गर्नका लागि डीसी वा एसी पावर आउटलेट, वाइफाइ लगायत सुविधा हुनुपर्नेछ ।

त्यस्तै, अब दर्ता हुने नयाँ ट्याक्सीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान भएको र छतमा पहेँलो रङ लगाएको हुनुपर्नेछ ।

त्यसैगरी, एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस), इल्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्युसन (ईबीडी), कम्तीमा २ वटा एयर ब्याग, हाइ स्पीड आर्लम सिस्टम, सबै सिटमा सिट बेल्ट, चालक र सँगैको सिटमा सिटबेल्ट रिमाइन्डर, पार्किङ सेन्सर वा रियर भ्यू क्यामेरा सुरक्षा फिचर भएको हुनुपर्नेछ । साथै, ट्याक्सी भित्र सीसीटीभी क्यामेर अनिवार्य हुनुपर्नेछ ।

हाल संचालन भइरहेका ट्याक्सीले भने डिलक्स र लग्जरी वर्ग कायम गर्न चाहेमा ६ महिना भित्र दर्ता गर्ने यातायात कार्यालयमा निवेदन दिनुपर्नेछ ।


Back_to_top