काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ बजेट लगत्तै चिनियाँ कम्पनीहरूका नयाँ विद्युतीय एसयूभी नेपाल आउने छन् । विशेषगरी आयातकर्ता कम्पनीले जेठ १५ गते सार्वजनिक हुने बजेटपछि मात्रै नयाँ मोडल ल्याउने प्रक्रिया सुरू गर्ने भएका हुन् ।
नेपाल बजारमा अलगै पहिचान बनाएका दीपल, ओमोडा/जेको र कियाले आफ्ना इलेक्ट्रीक एसयूभी ल्याउन लागेका हुन् । अहिलेकै कर अनुसार ४५ लाखदेखि ६५ लाख रुपैयाँ भित्रै आउने तीनवटै मोडल बजेटपछि कुन मूल्यमा आउँछ अहिल्यै एकिन साथ भन्न सकिने कुरा भएन ।
बढ्दो इलेक्ट्रीक एसयूभीको मागलाई सम्बोधन गर्न आउने यी तीनवटै मोडल अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण हुँदै आएका छन् । दीपल एस-०५ थाइल्याण्डको प्लाण्टमा उत्पादन भएर नेपाल आउने छ । किया ईभी-५ कोरिया र जेको भी-२३ चीनमा उत्पादन भएर नेपाल आउने छन् ।
उत्पादन जुनसुकै देशमा भए पनि यी तीनवटै मोडलको रिसर्च एण्ड डेभलपमेन्ट चीनमा भएको हो । त्यसैले, फिचर लगायतका कुरामा पनि यी तीनवटै मोडल मिल्दोजुल्दो हुनेछ ।
दीपल एस-०५ : एमएडब्लू वृद्धिले नेपालमा बिक्री गर्दै आएको दीपल ब्राण्डका कार निकै सफल भएको छ । त्यसमा पनि दीपल एस-०७ को सफलताले कम्पनीलाई थप हौसला प्रदान गरेको देखिन्छ ।
थाइल्याण्डमा निकै राम्रो प्रतिक्रिया पाइरहेको एस-०५ दुई ब्याट्री अप्सनमा उपलब्ध छ । बजेट लगत्तै नेपाल ल्याउने प्रक्रिया सुरू गर्ने एमएडब्लू वृद्धि स्रोतले मेरोअटोलाई बतायो ।
‘हामी बजेट लगत्तै एस-०५ को मूल्य लगायतका कुरा फाइनल गरेर गाडी ल्याउने छौं । आगामी अटो शोमा एस-०५ बिक्रीको लागि उपलब्ध हुनेछ,’ कम्पनी स्रोतले भन्यो ।
थाइल्याण्डमा दीपल एस-०५ मोडल लाइट, प्लस र म्याक्स भेरियन्टमा उपलब्ध छ । सम्भवतः नेपाल पनि यी तीनवटै भेरियन्ट आउने छ । दीपल एस-०५ एसयूभीको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० र उचाइ १६०० एमएम छ । यसको ह्वीलबेस पनि २८८० एमएम छ ।
हाइडेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर-वेभ राडार, १२ अल्ट्रासोनिक रेडार सहितको एसयूभीमा दीपल एस-०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ । इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर यसमा छन् ।
स्टील र आल्मुनियमको बडी, ६ वटा एयरब्याग, हिँडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्क्रीन पाउन सकिन्छ । क्वालकमको एसए ८१५५पी अटोमोटीभ चीप्स जडान भएको एस-०५ मा ठूलो एचयूडी रहेको छ ।
दीपलले यसमा १७५ किलोवाटको मोटर र ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । सीएलटीसीको अनुसार यो गाडीले ५१० किलोमिटर रेन्ज दिने छ । तर, रियल वल्र्डमा यसको रेन्ज ४०० किलोमिटर आसपास रहने अनुमान गर्न सकिन्छ ।
दीपलले एस-०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बियन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेस यसको बलियो पक्ष हो ।
जेको भी-२३ : चिनियाँ ब्राण्ड चेरीको न्यू इनर्जी भेहिकल ब्राण्ड जेकोले पनि बजेट लगत्तै भी-२३ मोडल नेपाल ल्याउने छ । आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलका अनुसार निकै आकर्षक मूल्यमा भी-२३ नेपाल आउने छ ।
चेरीकै अर्को ब्राण्ड आई कार ब्राण्डमा भी-२३ चीनमा बिक्री हुँदै आएको छ । नेपाली बजारमा भने यो जेकोको ब्राण्ड नेममा नै आउने छ ।
सहरी क्षेत्र र केही अफरोड बाटाहरूमा पनि सहजै चलाउन सकिने भी-२३ लाइफ स्टाइल प्रोडक्टको रूपमा बजारमा आउने छ । जेको भी-२३ मोडलमा ५९.९३ र ८१.७६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । सानो ब्याट्री एलएफपी हो भने, ठूलो ब्याट्री टर्नरी लिथियम हो । यी ब्याट्रीको रेन्ज क्रमशः ४०१ र ५०१ किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।
कम्पनीले यसमा पछाडि १०० किलोवाट र अगाडि ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । रियर ह्वील ड्राइभमा १०० किलोवाटको मोटर रहने छ । अलह्वील ड्राइभको संयुक्त पावर १५५ किलोवाट हो ।
भी-२३ को ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ । गाडीको साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । गाडीमा भेरियन्ट अनुसार २०० र २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एंगल ४० र अप्रोच एंगल ४२ डिग्री रहने छ ।
एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।
जेको भी-२३ मा स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।
किया ईभी-५ : कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले ईभी-५ ल्याउने प्रक्रिया सुरू गरिसकेको छ । कम्पनीले बजेटले गर्ने कर हेरफेरलाई ध्यानमा राखेर ईभी-५ नेपाल ल्याउने जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कम मूल्यमा कियाको एसयूभी भनेर चर्चा कमाएको ईभी-५ साइजको हिसाबले पनि उत्कृष्ट मोडल हो । यसको लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १७१५ एमएम छ ।
किया ईभी-५ मा ६४.२ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्री यस अघि किया निरोमा उपलब्ध थियो । उक्त ब्याट्रीलाई एकपटक फुलचार्ज गर्दा ४०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टमा देखिएको छ । यसमा मोटर भने १६० किलोवाटको छ ।
कियाले ईभी-५ लाई अल ह्वील ड्राइभ अप्सनमा पनि उपलब्ध गराएको छ । कम्पनीले अल ह्वील भेरियन्टमा ८८.१ किलोवाट आवरको ब्याट्री दिएको छ । अलह्वील भेरियन्टमा अगाडि १६० र पछाडि ७० किलोवाटको मोटर छ । दुवै मोटरको संयुक्त पावर २३० किलोवाट (३०८ हर्स पावर) हुन्छ । यो भेरियन्टको रेन्ज ४७० किलोमिटर रहेको छ ।
निकै सामान्य लाग्ने डिजाइनमा तयार भएको ईभी-५ को ढोकामा कडा प्लाष्टिकको प्रयोग भएको छ । ड्यासबोर्ड सफ्टटच मेटेरियरल र सिट र फेब्रिक मिसिएको लेदर छन् । फोर स्पोक स्टेरिङ ह्वील, १२.३ इन्चको डिजिटल क्लष्टर, १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम, छुट्टै एसी कन्ट्रोलका लागि ५ इन्चको स्क्रीन पाउन सकिन्छ ।