अब सार्वजनिक बस चढेर मनाङ जान सकिने, नियमित सेवा सुरू

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । गत चैत ७ गते पहिलो पटक यात्रुबाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

‘बेँसीसहर-चामे सडकमा बस सञ्चालन गर्न सकिने वा नसकिने भनेर गरिएको परीक्षण सफल भएपछि आजबाट बेसीसहरदेखि सदरमुकाम चामेसम्म नियमित बस सञ्चालन भएको हो,’ उनले भने

प्रजिअ आचार्यका अनुसार ना ६ ख ९५७९ र ना ७ ख ७२६७ नम्बर बस नियमित आवतजावत गर्नेछन् । अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने जानकारी गराइ आइतबारदेखि नियमित बस सञ्चालन गरिएको बस सञ्चालक सुरेश घिमिरेले जानकारी दिए।

मनाङमा निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत्का सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् । गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेसीसहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप स्थानीय प्रशासनले डुम्रे–बेसीसहर-चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपश्चात बस सञ्चालनमा ल्याइएको हो ।

१५ वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म बोलेरो, टाटासुमोजस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेँसीसहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जीपसँगै बस चढ्न सकिने भएको छ । सो रुटको भाडादर ७४० रुपैयाँ
कायम गरिएको छ ।

यस सडक अन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।


Back_to_top