काठमाडौं । अब सडकमा ३ प्रकारका ट्याक्सी गुड्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ लागू गर्दै ट्याक्सीलाई ३ वर्गमा वर्गीकरण हो ।
नयाँ मापदण्ड अनुसार ट्याक्सीलाई साधारण, विशेष (डिलक्स) र विशिष्ट (लग्जरी) गरी तीन वर्गीकरण गरिएको छ ।
यात्रुको जानकारीका लागि अब हरेक ट्याक्सीमा स्पष्ट रूपमा आफ्नो वर्ग जनाउने संकेत चिह्न राख्नुपर्ने व्यवस्था गरिएको छ ।
ट्याक्सीहरूमा ८०x८० एमएमको वर्गकार पारदर्शी प्लाष्टिकको भित्र रातो रङमा कम्तीमा ६० एमएम उचाइ र ८ एमएम मोटाइको अंग्रेजी अक्षरमा आफ्नो वर्ग चिनाउने स्टिकर राख्नु पर्नेछ ।
मन्त्रालयका अनुसार साधरण ट्याक्सीमा अंग्रेजी अक्षर ‘ओ’ लेखिएको स्टिकर टाँस्नुपर्नेछ । त्यस्तै, डिलक्स ट्याक्सीमा ‘डी’ र लग्जरी ट्याक्सीमा ‘वाइ’ लेखिएको स्टिकर टाँस्नुपर्ने छ ।
ट्याक्सीले आफ्नो वर्ग जनाउने संकेत चिह्न भएको स्टिकर ४ ठाउँमा टाँस्नु पर्नेछ । अगाडिको सिसाको चालक तर्फको माथिल्लो कुना, पछाडि पट्टिको दायाँ ढोका, बायाँ ढोका र पछाडिको सिसाको बायाँतर्फको तल्लो कुनामा संकेत चिह्न राख्नुपर्नेछ ।
ट्याक्सीमा टाँसिएको संकेत चिह्न हेरेर यात्रुले आफूले कुन वर्गको ट्याक्सी चढ्दै छु भन्ने थाहा पाउन सक्ने छन् ।
आफ्नो बजेट अनुसार ट्याक्सी चढ्न पाइने
अब यात्रुले आफ्नो आर्थिक हैसियत र चाहना अनुसारको ट्याक्सी चढ्ने विकल्प पाउने भएका छन् । ट्याक्सीमा वर्ग अनुसार भाडादर पनि फरक फरक हुनेछ ।
साधारण वर्गको ट्याक्सीको भाडादर नेपाल सरकारले तोके अनुसार हुनेछ । डिलक्स ट्याक्सीको भाडा साधारणकोभन्दा २० प्रतिशत बढी र लग्जरी ट्याक्सीको भाडादर साधारणकोभन्दा दोब्बर अर्थात् १०० प्रतिशत धेरै हुनेछ ।
आरामदायी र सुविधाजनक यात्र गर्न चाहनेले महँगो भाडा तिरेर डिलक्स र लग्जरी ट्याक्सी चढ्न सक्ने छन् भने कम पैसा हुनेले साधरण ट्याक्सी चढ्ने छन् ।

