काठमाडौं । टोयोटाले ‘ल्याण्ड क्रुजर रक्स’ कन्सेप्ट देखाएको छ । यसअघि लस भेगासमा भएको २०२४ सीमा शोमा पहिलो पटक देखाएको‘रक्स’ कन्सेप्ट निकै परिमार्जन सहित न्यूयोर्क अटो शो २०२५ मा देखाएको हो ।
अप्रिल १८ तारिखदेखिचलिरहेको न्यूयोर्क अटो शोमा रक्स कन्सेप्टले निकै चर्चा पाएको छ । यसको चर्चा हुनुमा कन्भर्टेबल छत पहिलो कारण हो । टोयोटाले नयाँ ल्याण्ड क्रुजर रक्स कन्सेप्टलाई ल्याण्ड क्रुजर २५० मा आधारीत रहेर तयार पारेको हो ।
नेपाली बजारमा पनि ल्याण्ड क्रुजर २५० केही महिना अगाडि मात्रै बिक्री सुरू भएको छ । यस्तोमा त्यसमै आधारीत रक्स कन्सेप्टमा हाम्रो पनि चासो हुनु स्वभाविक हो ।
तस्बिरमा देखिए अनुसार यसमा धेरै तीरबाट हावा पास हुने अवस्था छ । छतलाई पूर्णतया खोल्न मिल्ने बनाइएको छ । अगाडिको लाइट र बम्पर एलसी-२५० बाट नै लिइएको छ । तर, अगाडि प्रयोग गरेको स्किड प्लेड र मस्कुलर बम्पर विल्कुलै नयाँ छ ।
पछाडिको भाग पीकअपबाट प्रेरित भएको देखिन्छ । ल्याण्ड क्रुजर रक्स कन्सेप्टको इन्टेरियर सुन्तला कलरमा सजिएको छ । अफरोड क्षमताले भरिपूर्ण कन्सेप्ट मोडलमा इन्डिपेन्डेन्ट सस्पेन्सन, १८ इन्चको अफरोड टायर, स्टील बम्पर, ट्रिपलबार रुफ र्याक, ७ वटा एक्जुलरी रुफ लाइट दिइएको छ । यी फिचरको सहायताले जस्तो सुकै अफरोडमा पनि गाडी चलाउन सहज हुन्छ ।
विश्व बजारमा खुबै रुचाइएका जीप र्याङलर र फोर्ड ब्रोंकोसँग सिधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसमा रहेको टेक्निकल डिटेलका विषयमा टोयोटाले जानकारी दिएको छैन ।

