काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशका लागि ६१ वटा कम्प्याक्ट एसयूभी खरिद गर्न केएमसी अटोमोबाइल्सलाई छनोट गरेको छ ।
बोलपत्र पेश गरेका दुई कम्पनी मध्येबाट सर्वोच्चले प्राविधिक रूपमा केएमसी अटोमोबाइल्सलाई छनोट गरेको हो ।
सर्वोच्च अदालतले गत फागुन २८ गते ६१ वटा कम्प्याक्ट एसयूभी खरिदका लागि टेन्डर आह्वान गरेको थियो । जसमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र सुजुकीको बिक्रेता केएमसी अटोमोबाइल्सले आवेदन दिएका थिए ।
दुई कम्पनीमध्ये सर्वोच्चले केएमसीलाई प्राविधिक रूपमा योग्य ठहर्याएको हो । सर्वोच्चले कति मूल्यमा गाडी खरिद गर्न लागेको हो भन्ने आर्थिक प्रस्ताव खोलेपछि मात्रै थाहा हुनेछ ।
सर्वोच्चका अनुसार आर्थिक प्रस्ताव वैशाख १७ गते दिउँसो १ बजे खोलिने छ । आर्थिक प्रस्ताव खुलेको ३० दिन भित्र गाडी डेलिभरी गरिसक्नुपर्ने छ ।
केएमसी अटोमोबाइल्स चौधरी ग्रुप अन्तर्गतको कम्पनी हो । यसको कार्यालय ललितपुरको झम्सिखेलमा रहेको छ ।
सर्वोच्चले तोकेको स्पेसिफिकेसन अनुसार गाडी कम्तीमा ११५० सीसीकाे इन्जिन भएको, ८० पीएस पावर र ११० एनएम टर्क जेनेरेट गर्ने, १८५ एमएमको ग्राउण्ड क्लियरेन्स, २४८० एमएम ह्वीलबेस भएको हुनुपर्नेछ । त्यस्तै, टूह्वील वा फोरह्वील ड्राइभ अप्सन, कम्तीमा ५ ढोका भएको, एबीएस ब्रेकिङ सिस्टम,रियर पार्किङ सेन्सर, प्रतिलिटर पेट्रोलले १७ किलोमिटर गुड्ने हुनुपर्नेछ ।
उक्त स्पेसिफिकेसन अनुसारकाे सुजुकी फ्रङ्क्स गाडी उपलब्ध गराइने स्रोतले बतायो । फ्रङ्क्स एसयूभीमा १.२ लिटर ड्यूलजेट, फोर सिलिण्डर इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८९ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्छ ।
हाल नेपाली बजारमा सुजुकी फ्रङ्क्सको मूल्य न्यूनतम ४१ लाख ४९ हजार रुपैयाँदेखि ४९ लाख ४९ हजार रुपैयाँसम्म रहेको छ ।


