चीनले बनायो १० वर्षे ईभी विकासकाे लक्ष्य, प्राथमिकतामा यस्ता गाडी

काठमाडौं । चीनले आगामी १० वर्षको लागि आफ्नो विद्युतीय सवारी साधन (ईभी) विकास लक्ष्य रूपरेखा तयार बनाएको छ ।

पछिल्लो समय न्यू इनर्जी भेहिकलमा फड्को मारिरहेको चीनले ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी) लाई प्राथमिकतामा राख्दै १० वर्षे  याेजना तयार पारेको हो ।

यातायात मन्त्रालयसहित १० सरकारी निकायहरूले जारी गरेको निर्देशिका अनुसार, देशले २०३५ सम्ममा पियोर ईभीलाई नयाँ सवारी बिक्रीको मुख्य साधन बनाउने लक्ष्य राखेको छ ।

यातायात र ऊर्जाको एकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले तयार गरिएको दिशानिर्देश अनुसार पियोर ईभी वा ब्याट्री विद्युतीय सवारी (बीईभी) विकास गर्ने पहिलो लक्ष्य राखिएको छ ।

त्यस्तै, चीनले सन् २०३५ सम्ममा यातायात र नयाँ ऊर्जा प्रणालीहरूलाई पूर्ण रूपमा एकीकृत र अन्तरक्रियात्मक बनाउने लक्ष्य राखेको छ ।

चीनले सुरूमा स्वच्छ, कमकार्बन ऊर्जा खपत गर्ने यातायात ऊर्जा प्रयोग प्रणाली स्थापना गर्ने जनाइएको छ । जसमा वैज्ञानिक र प्राविधिक नवप्रवर्तनलाई प्रमुख कार्यको रूपमा लिइने दिशा निर्देशमा उल्लेख छ ।

२०२७ सम्ममा, नयाँ सवारी साधनहरूमा न्यू इनर्जी भेहिकल (एनईभी) को अनुपात वर्षैपिच्छे बढ्दै जाने दिशानिर्देशमा भनिएको छ।

चीनले यातायात क्षेत्रमा भर्चुअल पावर प्लाण्टहरू सिर्जना गर्ने, विद्युतीय सवारी, चार्जिङ सुविधा, ब्याट्री स्वाप सुविधा र अन्य स्रोतहरू संयोजन गर्ने उल्लेख गरिएको छ ।

चीनको अटोमोटिभ क्षेत्रमा अहिले सबैभन्दा चर्चामा रहेको शब्द हो एनईभी । जसमा बीईभी, प्लग इन हाइब्रिड इलेक्ट्रीक भेहिकल (पीएचईभी र इन्धन सेल भेहिकलहरू समावेश छन्।

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार, २०२४ मा चीनमा एनईभीको खुद्रा बिक्री ४०.४५ प्रतिशतले बढेर १ करोड ८ लाख ९५ हजार २५२ युनिट पुगेको थियो । जसमा प्यासेन्जर कारको हिस्स ४७.६ प्रतिशत छ ।

२०२४ मा बीईभी मात्रै ६३ लाख २० हजार ६४९ युनिट बिक्री भएको थियो । यो अघिल्लो वर्षको तुलनामा २२.८२ प्रतिशत धेरै हो ।

२०२४ मा एनईभीको खुद्रा बिक्रीमा ४२ प्रतिशत योगदान पीएचईभी (एक्स्टेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल सहित)को छ । अघिल्लो वर्षको तुलनामा पीईभीको बिक्री ७६.६९ प्रतिशतले बढेर ४५ लाख ८२ हजार ८३१ युनिट पुगेको छ । गतवर्ष सवारी बिक्रीमा सबैभन्दा धेरै वृद्धिदर पीएचईभीको रहेको थियो ।

चालु वर्ष (सन् २०२५) मा पनि बीईभीको बिक्री ह्वात्तै बढेको छ । पहिलो त्रैमासमा बीईभीको खुद्रा बिक्री १४ लाख ९२ हजार युनिट पुगेको छ । यो सन् २०२४ को सोही अवधिको तुलनामा ४५.२८ प्रतिशतले बढी हो ।


Back_to_top