काठमाडौं । कोटेश्वर–जडिबुटीको सुरुमार्ग निर्माणको प्रारम्भिक अध्ययनका लागि जापानबाट एक्स्पर्ट टोली नेपाल आएको छ ।
जापानी टोलीले कोटेश्वरदेखि जडिबुटीमा कुन ठाउँ हुँदै कसरी सुरुङमार्ग निर्माण गर्ने भन्ने बारे अध्ययन गरिरहेको छ । सुरुङ मार्गका लागि कति लगानी लाग्ने भन्ने विषयमा प्रारम्भिक अध्ययन पश्चात् नै छलफल हुने सडक विभाग अन्तर्गतको वैदेशिक समन्वयन महाशाखाले जानकारी दिएको छ ।
माहाशाखाका प्रमुख केशव शर्माका अनुसार हाल सुरुङमार्गको विकल्पको विषयमा अध्ययन भइरहेको छ । सो अध्ययन सम्पन्न पछि थप छलफल गरिने उनले बताए ।
‘यो सुरुको पहिलो चरणमा भइरहेको प्रारम्भीक अध्ययन हो, उनीहरुको अध्ययन पछि मात्र कहाँदेखि कहाँसम्म कति लामो सुरुङमार्ग बनाउन सकिन्छ भन्ने थाहा हुनेछ’, शर्माले मेरोअटोसँग भने ।
उनका अनुसार अबको १ महिनामा कोटेश्वर–जडिबुटी सुरुङमार्ग निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न हुनेछ ।
उनले सो सुरुङ मार्गको काम सरासर भएमा ३ वर्षमा सुरुङ मार्ग निर्माण सकिने बताए । सुरुङमार्ग निर्माणपछि कोटेश्वरमा हुने जाम हट्ने शर्माको दाबी थियो ।

