विश्व वातावरण दिवस : संरक्षणमा नेपालको उल्लेख्य योगदान, क्षति भने बढ्दो

काठमाडौं । आज विश्वभर वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वान सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस मनाउन थालिएको हो ।

यस वर्ष संयुक्त राष्ट्रसंघले ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ भन्ने नाराका साथ वातावरण दिवस मनाउने भएको छ । त्यस्तै, नेपालमा ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ मनाइँदै छ ।

विश्व वातावरण दिवस २०२५ को विषयवस्तु प्लाष्टिक प्रदूषण अन्त्यमा केन्द्रित छ । राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा १ करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।

नेपालले वातावरण संरक्षणमा उल्लेख्य योगदान गरेको छ । विश्वभर जंगलको क्षेत्रफल मासिँदै जाँदा नेपालले भने बढाउन सफल भएको छ । नेपालले वन क्षेत्रको संरक्षण ठूलो उपलब्धी हात पारेको छ । २५ वर्षअघि (सन २०००) मा नेपालको वन क्षेत्र ३९.९९ प्रतिशत रहेकोमा हाल बढेर साढे ४५ प्रतिशत पुगेको छ । सामुदायिक वन कार्यक्रम मार्फत नेपाललले वनको क्षेत्र बढाउन सफल भएको हो । यो वातावरण संरक्षणका लागि निकै सकारात्मक कुरा हो ।

त्यस्तै, नेपालले वातावरण संरक्षणका लागि विश्वमञ्चमा पनि निरन्तर आवाज उठाउँदै आएको छ । कोप सम्मेलनसहित वातावरणसँग सम्बन्धित अन्तर्राष्ट्रिय फोरमहरूमा लगातार जलवायु परिवर्तन मुद्दाको प्रखर वकालत गर्दै आएको छ । कार्बन उत्सर्जन र बढ्दो तापक्रममा वृद्धिले नेपाल जस्ता मुलुकमा परेको असर र भोग्नु परेका समस्याका बारे विश्वलाई ध्यानाकर्षण गराइरहेको छ ।

त्यस्तै, पछिल्लो समय नेपालले हरित ऊर्जा प्रयोगमा उल्लेख्य फड्को मारेको छ । जलविद्युत्, सौर्य र्ऊजा, बायोग्यासको उत्पादन र प्रयोगमा ठूलो फड्को मारेको छ । नेपाले हरित सवारी साधन प्रयोगलाई प्राथमिकतामा राखेको छ । ग्यासोलिन सवारी नियन्त्रणका लागि नेपालले ईभीमा कर छुट दिँदै प्रोत्साहन गरिरहेको छ । सोही कारण हाल नेपालमा ईभी एसेप्टेन्स रेट ६५ प्रतिशत पुगेको छ ।  त्यस्तै, सरकारले २०३० सम्ममा निजी सवारीमा विद्युतीयको हिस्सा ९० प्रतिशत र सार्वजनिकमा ६० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।

नेपालले कानुनी रुपमा पनि वातावरण संरक्षणलाई जोड दिएको छ । वातावरण संरक्षण ऐन, राष्ट्रिय जलवायु नीति, हरित विकास रणनीति  लागू गरेर सरकारले वातावरण अनुकूल विकासलाई प्राथमिकता दिएको छ । यद्यपि, वातावरण संरक्षणका लागि भएका केही कानुनी व्यवस्था पालना भएको पाइँदैन । प्रदूषण नियन्त्रणका लागि पेट्रोलियम पद्धार्थमा कर लगाउँदै आएको छ । तर, उक्त कर प्रदूषणा नियन्त्रणकै लागि खर्च भएको पाइँदैन ।

नेपालले वातावरण संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुका बाबजूद असर भने भोगिरहनु परेको छ । हिउँदयाममा हुने आगलागी, भारतीय क्षेत्रमा डढाइने गहुँको छ्वाली, पराल लगायतका कारण शहरी क्षेत्रमा वायु प्रदूषण खतरनाक स्तरमा पुग्ने गरेको छ ।

त्यस्तै, अव्यवस्थित ढल, औद्योगिक रसायनहरूले नदी प्रदूषण हुने क्रम बढ्दो छ । औद्योगिक राष्ट्रले उत्सर्जन गर्ने कार्बनका कारण विश्व तापमान वृद्धि भइरहेको छ । जसको प्रत्यक्ष असर नेपालले भोगिरहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिका कारण हिउँ पग्लने क्रम बढ्दो छ । जलवायु परिवर्तनका कारण अति भारी वर्षा हुने क्रम बढ्दो छ । जसले हिमाली तथा पहाडी क्षेत्रमा बाढी, पहिरोको समस्या बढाएको छ ।

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न नेपालले थप कदम चाल्न जरुरी छ । यसका लागि स्थानीय समुदाय, सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको संयुक्त प्रयासमा काम गर्नुपर्ने देखिन्छ ।


Back_to_top