काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधन हराउने क्रम बढ्दो छ । नयाँ सवारी साधनको संख्या थपिने क्रम बढ्नु, सवारीधनीको लापारबाही, चोरको बिगबिगी लगायत कारण हराउने सवारी साधनको संख्या पनि बढ्दै गएको हो ।
मुख्य गरी दुइपाँग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) हराउने क्रम बढेको हो । चारपाँग्रेको तुलनामा चोरी गर्न सजिलो हुने भएकाले दुईपाँग्रे सवारी साधन चोरहरूको निसानमा पार्ने गरेका हुन् । हराउने चारपाँग्रे सवारी साधनको संख्या भने नगन्य छ ।
पछिल्लो १० वर्षमा मात्रै काठमाडौं उपत्यकाबाट १५ हजार २०६ युनिट सवारी साधन हराएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ देखि चालु आवको जेठ २८ गतेसम्म उक्त संख्यामा सवारी साधन हराएका हुन् ।
यस अवधिमा सवारी हराउने क्रम चार गुणाले बढेको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा ५४४ वटा सवारी साधन हराएका थिए । गत आव २०८०/८१ मा आइपुग्दा हराउने सवारीको संख्या चार गुणाभन्दा धेरैले बढेर २४०२ वटा पुगेको हो ।
आव २०७५/७६ यता २ वर्ष घट्दो क्रममा रहेको सवारी चोरी विगत ३ वषदेखि भने लगातार बढ्दो क्रममा छ । आव आव २०७५/७६ मा १७१० युनिट सवारी हराएको आव २०७६/७७ मा १३९० र आव २०७७/७८ मा १३५६ युनिटमा झरेको थियो ।
तर, आव २०७८/७९ देखि हराउने क्रम फेरि ह्वात्तै बढेको छ । उक्त आवमा १८५० युनिट सवारी हराएकोमा गत वर्ष सबैभन्दा धेरै २४०२ वटा हराएका थिए । चालु आवको ११ महिना (जेठ २८ गतेसम्म) १९५९ युनिट हराइसकेकाले यस वर्ष पनि २ हजार बढी पुग्ने देखिएको छ ।
कार्यालयका अनुसार आव २०७३/७४ मा १०१४ वटा, २०७४/७५ मा १३८० वटा, २०७५/७६ मा १७१० वटा सवारी हराएका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) दीपक गिरी सवारीधनीले सावधानी नअपनाउँदा सवारी साधन हराउने क्रम बढेको बताउँछन् । सवारी साधन जथाभावी पार्किङ गर्ने, ह्याण्डिल, ह्वील/चेन लक नगर्ने, साइरन जडान नहुने हुँदा चोरीका घटान बढिरहेको उनले बताए ।
‘सवारी साधनको संख्या बढ्दो छ । पार्किङ गर्दा पनि सवारीधनीले ख्याल गरेको देखिँदैन । सीसीक्यामेरा नभएका गल्ली, सडक जता पनि पार्किङ गरेको देखिन्छ । साथै, सवारीमा ह्याण्डिल, ह्वील लगायत लक गरेको देखिँदैन । यस्तोमा चोरहरूले मौका छोपेर चोर्ने गरेको देखिन्छ,’ उनले मेरोअटोसँग भने । सीसीटीभी क्यामेरा भएका पार्किङ स्थलबाट सवारी हराउने सम्भावना निकै कम हुने गरेको उनको भनाइ छ ।
वार्षिक कति रकमको सवारी हराउँछन् ?
एकिन तथ्यांक नभए पनि वार्षिक करिब ५० करोड रुपैयाँ बढीको सवारी साधन चोरी हुने आकलन छन् । चोरी हुने अधिकांश मोटरसाइकल/स्कुटर नयाँ नै हुन्छन् । यद्यपि, वर्षौं पुराना साधन पनि चोरी भएका घटना छन् । नयाँ साधनको मूल्यमा आधारमा हिसाब गर्दा चोरी हुने साधनको मूल्य करिब ५० करोड हुने देखिएको हो ।
औसतमा वर्षेनी १५२१ वटा सवारी साधन हराउने गरेका छन् । तीमध्ये करिब ६५ प्रतिशत मोटरसाइकल र ३५ प्रतिशत स्कुटर हुने गरेको छ । एउटा मोटरसाइकलको औसत मूल्य साढे ३ लाख र स्कुटरको साढे २ लाख मान्दा पनि वार्षिक ५० करोड रुपैयाँ हाराहारीको सवारी साधन हराउने गरेको देखिएको हो । काठमाडौं उपत्यका बाहिर देशभर हराएका सवारीको हिसाब गर्ने हो भने रकम झन् धेरै हुनेछ ।
पछिल्ला २ वर्षमा २ हजार बढी सवारी हराएका छन् । सो आधारमा हराएको सवारीको मूल्य ६० करोड रुपैयाँ बढी हुने देखिन्छ ।
औसतमा हराएका २२ प्रतिशत मात्रै भेटिन्छन्
हराएका सवारी साधन भेटिने अनुपात निकै कम छ । कार्यालयको तथ्यांक अनुसार १०० सवारी साधन हराउँदा औसतमा २२ वटा मात्रै भेटिने गरेको छ ।
पछिल्लो १० वर्षमा १५ हजार २०६ वटा सवारी हराएकोमा ३ हजार २५४ वटा मात्र भेटिएको छ । औसतमा वार्षिक १५२१ वटा सवारी हराउँदा ३२५ वटा अर्थात् २१.९६ प्रतिशत मात्रै फेला पारी धनीलाई बुझाइएको छ ।
आव २०७२/७३ मा हराएका मोटरसाइकल भेटिने दर सबैभन्दा धेरै २९.६० प्रतिशत थियो । सो वर्ष ५४४ वटा सवारीसाधन हराउँदा १६१ वटा फेला पारी सवारीधनीलाई जिम्मा लगाइएको थियो ।
त्यस्तै, आव २०७४/७५ मा सबैभन्दा कम १३.४१ प्रतिशत मात्रै सवारीसाधन भेटिएको कार्यालयको तथ्यांक छ । सो वर्ष १३८० वटा सवारी हराएकामा १८५ वटा मात्रै फेला परेका थिए ।
त्यसैगरी, आव २०७५/७६ मा १७१० वटा हराएकोमा २९२ वटा (१७.०८) प्रतिशत, आव २०७६/७७ मा १३९० वटा हराएकोमा २२८ वटा (१६.४० प्रतिशत), आव २०७७/७८ मा १३५६ वटा हराएकोमा ३६७ वटा (२७.०६ प्रतिशत), आव २०७८/७९ मा १६०४ वटा हराएकोमा ४३४ वटा (२७.०६ प्रतिशत) मात्रै फेला परेका छन् ।
त्यस्तै, आव आव २०७९/८० मा १८५० वटा हराएकोमा ४९९ वटा (२६.९७ प्रतिशत), आव २०८०/८१ मा २४०४ वटा हराएकोमा ४१७ वटा (१३.३६ प्रतिशत) र चालु आव २०८१/८२ (जेठ २८ गतेसम्म) १९५९ वटा हराएकोमा ४५३ वटा (२३.१६ प्रतिशत) फेला पारी सम्बन्धित धनीलाई बुझाएको प्रहरीको तथ्यांक छ ।
किन भेटिँदैनन् हराएका साधन ?
हराएका सवारी साधन नभेटिनुको प्रमुख कारण स्वरुप र ठाउँ परिवर्तन गरेर चलाउनु रहेको ट्राफिक प्रवक्ता गिरी बताउँछन् । चोरी भएका सवारीमा नक्कली नम्बर प्लेट राख्ने र नक्कली कागजात तयार गरी बिक्री वितरण गर्ने वा प्रयोग गर्ने गरेको भेटिने उनले बताए ।
‘चोरहरूले चोरेको सवारी साधनमा अर्कै नम्बर प्लेट राख्छन् । सवारीको रङ, सिट लगायत परिवर्तन गर्छन् । सहरमा चोरेका मोटरसाइकल/स्कुटर गाउँमा पुर्याउँछन् । यस्तोमा सक्कली साधन ठ्याक्कै चिन्न गाह्रो हुन्छ ।’
सवारी साधनमा आधुनिक प्रविधि जडान नहुनु, खोजीका लागि पर्याप्त जनशक्ति नहुनु लगायत कारणले पनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ ।
प्रहरीले सवारीको इन्जिन र चेसिस नम्बर हेरेर चोरीको सवारी पत्ता लगाउने गरेको उनले बताए । हराएको सवारी खोज्न सादा पोशाकमा प्रहरी परिचालन गरिँदै आइएको छ ।
‘सवारी धनी आफैं सचेत हुनुपर्छ’
सवारी साधन हराउनबाट जोगाउन सवारीधनी आफैं सचेत हुनुपर्ने प्रवक्ता गिरी बताउँछन् । सवारी साधन हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक गर्ने, सुरक्षा साइरनहरू जडान गर्ने लगायत सावधानीका उपाय अपनाउनुपर्ने उनले बताए ।
‘सवारी साधन जोगाउन धनी स्वयम्ले सावधानी अपनाउनुपर्छ । अध्याँरो ठाउँ, गल्ली, मानिस आवतजावत नहुने ठाउँमा पार्किङ गर्नहुँदैन । रातिमा गेटभित्रै राख्नुपर्छ,’ उनले भने, ‘साथै, सवारी साधनको ह्याण्डिल, ह्वील, डिस्क लगायत लक गर्नुपर्छ । सकेसम्म सवारीमा साइरन जडान गर्नुपर्छ । यसो हुँदा चोरले सहजै चोर्न सक्दैन ।’
व्यक्तिबाट सवारी खरिद गर्दा (ब्लूबुक)को विवरण, सवारी विवरण र यातायात कार्यालयको ढड्डाको विवरण भिडाएर मात्र किन्नु पर्ने उनको भनाइ छ ।
अधिकांश आपराधिक गतिविधिमा चोरीका सवारी साधन प्रयोग हुँदै आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

