काठमाडौं । हाइभोल्टेज ब्याट्री निर्माता बीच चल्दै गएको प्रतिस्पर्धा सोलिड स्टेट ब्याट्रीको विकासमा जुटेसँगै निकै रोचक बन्दै गएको छ । चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले सिंगल चार्जमा ३ हजार किलोमिटर रेन्ज दिने सोलिड स्टेट ब्याट्रीको पेटेन्ट दर्ता गरेको हो ।
हुवावेले प्याटेन्ट दर्ता गरेको उक्त ब्याट्रीलाई अल्ट्रा फास्ट चार्जरले पाँच मिनेटमै चार्ज गर्न सकिनेछ । यति धेरै रेन्ज दिने ब्याट्रीको घोषणासँगै ईभी अभियन्ताहरुको टाउको दुखाई कम हुने आँकलन गरिएको छ ।
हुवावेको नयाँ सोलिड स्टेट ब्याट्रीको आर्किटेक्चर ४०० देखि ५०० वाटआवर प्रतिकेजी डेन्सीटी हुनेछ । जुन अहिले प्रयोगमा रहेको लिथियम आयोन ब्याट्रीको भन्दा ३ गुणा बढी हो । हुवावेको नयाँ सोलिड स्टेट ब्याट्रीको डिजाइन ब्याट्रीको सुरक्षा बढाउने र चार्जिङ साइकल वृद्धि गर्ने योजना अनुसार गरिएको छ ।
चिनियाँ टेक कम्पनी हुवावेले ईभीका अन्य टेक्नोलोजी विकास गरिरहेको भएपनि ब्याट्री उत्पादनमा भने सन् २०२५ बाट मात्र चासो देखाएको थियो । कम्पनीले सन् २०२५ को सुरुवातमा ‘सेन्थेसिस सल्फाइड इलेक्ट्रोलाइड’को पेटेन्ट दर्ता गरेको थियो । यो मेटेरियल हाइ कन्डक्टीभिटि भएको बहुमूल्य रहेको छ । कहिले काहिँ सेन्थेसिस सल्फाइड इलेक्ट्रोलाइडको मूल्य सुनको भन्दा बढि हुनेछ ।
विश्वमा टोयोटा, पानासोनिक र सामसुङ जस्ता लेगेसी कम्पनीले दशकौदेखि सोलिड स्टेट ब्याट्रीमा लागानी गरिरहेका छन् । टोयोटाले सन् २०२३ मै १२०० किलोमिटर रेन्ज दिने १० मिनेटमा चार्ज हुने सोलिड स्टेट ब्याट्रीको प्रोटोटाइप देखाएको थियो ।

