काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका थप २१ सडकलाई बाटो अनुमति दिने तयारी थालेको छ । विभागले निर्माण सम्पन्न भई सवारी गुडाउन योग्य रहेका २१ सडकमा बाटो अनुमति कायम गर्ने भएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सार्वजनिक सवारी साधन गुडाउन अनिवार्य बाटो अनुमति लिनुपर्ने व्यवस्था छ । विभागले २०७४ यता निर्माण सम्पन्न भएका सडकमा बाटो अनुमति दिने तयारी गरेको हो ।
यसअघि सडक निर्माण सम्पन्न भएपछि यातायात व्यवसायीहरू आफैं बाटो अनुमति माग्न आउने गरेका थिए । तर, अहिले निर्माण सम्पन्न भएका सडकमा अनुमति नै नलिई सवारी संचालन गरिरहेको पाइएको छ । व्यवसायीले बाटो अनुमतिका लागि निवेदन नदिए पनि विभाग आफैंले अनुमति दिने प्रक्रिया अघि बढाएको हो ।
यातायात व्यवस्था विभागको निर्देशक (सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखा) श्रीकान्त यादवले निर्माण सम्पन्न भएका २१ सडकमा बाटो अनुमति दिने तयारी गरिएको बताए । पछिल्लो ८ वर्ष यता निर्माण सम्पन्न भएका नयाँ सडकमा बाटो अनुमति कायम गर्न लागिएको उनले बताए ।
‘निर्माण सम्पन्न भएका सडकमा बाटो अनुमति नलिई सवारी साधन चलाउन पाइँदैन । अहिले सबै सडकमा बिना अनुमति सवारी साधन गुडिरहेका छन् । व्यवसायी पनि अनुमति माग्न आउनुभएको छैन,’ उनले मेरोअटोसँग भने, ‘अनुमति नदिएका सडकमा सवारी चलाउँदा दुर्घटना हुँदा क्षतिपूर्ति पाइँदैन । अर्कोतर्फ राज्यले पाउने राजस्व पनि गुमिरहेको छ । यस्तोमा माग नभए पनि विभाग आफैंले अनुमति दिने प्रक्रिया अघि बढाएको हो ।’
बाटो अनुमति दिन देशका पूर्वी क्षेत्रका सडकको स्थलगत अनुगमन समेत गरिसकिएको उनले बताए । अब चाँडै पश्चिम क्षेत्रका सडकको स्थलगत अनुगमन गर्ने तयारी भइरहेको उनले बताए । ‘बाटो अनुमति दिन लागिएका पूर्वी क्षेत्रका सबै सडकको अनुगमन गरिसकेका छौं । अब पश्चिम क्षेत्र जाँदैछौं,’ उनले भने, ‘त्यसपछि अध्ययन गरेर अनुमति दिनेछौं ।’ अबको डेढ/दुई महिना भित्रै नयाँ सडकलाई अनुमति दिइने उनको भनाइ छ ।
नयाँ निर्माण भएका सडकमा विभागले बाटो अनुमति नदिई सार्वजनिक सवारी साधन चलाउँन पाइँदैन । विभागले हालसम्म देशभरका २८० सडकमा बाटो अनुमति दिएको छ ।
कुन कुन सडकमा दिइँदै छ बाटो अनुमति ?
विभागले अनुसार इटहरी-कान्छिचौक-चतरा-गाईघाट-कटारी-भिमान-सिन्धुली-काठमाडौं, धरान-इटहरी-कान्छिचौक-चतरा-गाईघाट-कटारी-भिमान-सिन्धुली-काठमाडौं सडकमा नयाँ बाटो कायम गर्न लागेको हो । यी दुवै रुटको भिमान-सिन्धुली-काठमाडौं खण्डमा यसअघि नै अनुमति दिएको थियो भने अरु क्षेत्रमा नयाँ अनुमति दिन लागिएको हो ।
त्यस्तै, बर्दिबास-जलेश्वर (बर्दिबास हुँदै औरही न पा-१ भोइल, टिमकिया, कञ्चनपुर, रामगोपालपुर, बिर्ता, टिकुलिया, सरपल्लो, बहेडा बखरी चौक हुँदै जलेश्वर), हेटौंडा-सिन्धुली माडी (हेटौंडा बजार, हटिया, बकैया, बागमती गाँउपालिका, हरिहरपुरगढी, सुनकोसी मरिन डाइभर्जन आयोजना हुँदै सिन्धुली माडी बजार), पारस बसपार्क-गोलघाट (पारस बसपार्क, चौबिसकोटी, कल्याणपुर, मंगलपुर, रामपुर, चनौली बजार, पर्साढाप, मेघौली हुँदै गोलाघट) सडकलाई बाटो कायम गर्न लागिएको हो ।
त्यसैगरी, हाकिम चोक-मागी (हाकिम चोक, टाइगरचोक, पकौडी, पठियानी, कसारा चोक, जगतपुर हुँदै माडी नगरपालिका-३ वसन्तपुरसम्म), ठोरी-वीरगंज (ठोरी बजार, बाघमोर्चा, गमरिया चोक, बहुअरी चोक हुँदै वीरगंज बसपार्कसम्म), कान्ति लोकपथ (काठमाडौ-सातदोबाटो-चापागाँउ-टिकाभैरव-भट्टेडाँडा-हेटौंडा), काठमाडौं-मुग्लिङ-नारायणघाट-बर्दिबास, बर्दिवास-रोजा-मडई-जलेश्वर, बर्दिवास-जनकपुर, जनकपुर-लोहारपट्टी, जनकपुर-परसाही, जनकपुर-तिनकोरिया-सरावे-माची-खजुरी सडकलाई अनुमति दिन लागिएको हो ।
त्यस्तै, जनकपुर-जलेश्वर, जलेश्वर-भिठ्ठामोड, जलेश्वर-बखरी-एकडरा-मनरा, काठमाडौं-हेटौंडा, हेटौंडा-सिन्धुली, सिन्धुली-भिमान-गाईघाट-चतरा-इटहरी, भैरहवा-परासी-भुमही, तौलिहवा-बहादुरगञ्ज, सन्धिखर्क-बलकोट-छत्रगञ्ज-तम्घास र रिडी-वामिटक्सार-बुर्तिवाङ सडकलाई अनुमति दिइने तयारी गरिएको हो ।