काठमाडौं । कतार एयरवेज विश्वकै उत्कृट एयरलाइन्स कम्पनी बनेको छ । सिंगापुर एयरलाइन्सलाई पछि पार्दै कतार एयर सन् २०२५ को उत्कृट एयरलाइन्स कम्पनी बनेको हो ।
कतार एयरवेजले मंगलबार आयोजित पेरिस एयर शोमा ‘स्काइ ट्रयाक्स वर्ल्ड एयर लाइन्स २०२५’ अवार्ड पाएको हो ।
आफ्नो २६ वर्षे यात्रामा कतार एयरवेजले उक्त अवार्ड पाएको यो नवौं पटक हो । साथै, कतार एयरवेजले मध्य पूर्वको उत्कृष्ट एयरलाइन्स, विश्वको उत्कृष्ट बिजनेस क्लास र उत्कृष्ट बिजनेस क्लास एयरलाइन्स लाउन्ज अवार्ड पनि पाएको छ ।
सन् १९९३ मा स्थापित कतार एयरवेजले हाल २०० बढी जहाजबाट विश्वका १७० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । कतारले हालै बोइङसँग २१० वटा वाइडबडी विमानहरूको लागि ऐतिहासिक अर्डर दिने घोषणा गरेको थियो ।
त्यस्तै, ५ पटक विश्वको सर्वोत्कृष्ट एयरलाइन्स बनेको सिंगापुर यस वर्ष दोस्रो स्थानमा रह्यो । सिंगापुर एयरलाइन्सले एसियाको सर्वोत्कृष्ट एयरलाइन्स, विश्वको सर्वोत्कृष्ट क्याबिन क्रू र विश्वको सर्वोत्कृष्ट प्रथम श्रेणीको रूपमा पहिलो स्थानमा रह्यो ।
त्यसैगरी, क्याथे प्यासिफिक एयरवेज तेस्रो, दुबईको एमिरेट्स चौथो, जापानको एएनए अल निप्पोन एयरवेज पाँचौं, टर्किस एयरलाइन्स छैटौं, कोरियन एयर सातौं, एयर फ्रान्स आठौं, जापान एयरलाइन्स नवौं र चीनको हेनान एयरलाइन्स विश्वको दशौं उत्कृष्ट एयरलाइन्स बनेका छन् ।
त्यसैगरी, स्वीस इन्टरनेशनल एयर लाइन्स, ब्रिटिश एयरवेज, क्वान्टास, भर्जिन एट्लान्टिक, लुफ्थान्सा, एयर क्यानडा, स्टारलक्स एयरलाइन्स, इभा एयर, साउदिया र इबेरिया क्रमशः शीर्ष २० भित्र परेका छन् ।

