बेँसीसहर-चामे सडकमा राति गाडी चलाउन रोक

काठमाडौं । लमजुङको बेँसीसहरदेखि मनाङको चामे सडकमा आजदेखि रातिमा सवारी साधन संचालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङले एक सूचना जारी गर्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइने जानकारी गराएको हो ।

मंगलबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै रातिमा सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर-चामे-खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारी साधन संचालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ। ती सवारीसाधन नासो गाउँपालिका-१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ। कूल ६५ किलोमिटर रहेको यस सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ।


Back_to_top