काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीका लागि नैतिक संहिता (कोड अफ इथिक्स) लागू गरेको छ ।
कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीलाई यात्रुप्रति शिष्ट, सम्मानजनक र सौहार्दपूर्ण व्यवहार गर्न कार्यालयले निर्देशन दिएको हो । साथै, कर्मचारीलाई कानुन, सामाजिक/सांस्कृति मूल्यप्रति जिम्मेवार र संवेदनशील बन्न समेत निर्देशन दिएको छ ।
कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेशागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी बनाउन ‘कोड अफ इथिक्स’ लागू गरिएको विभागले जनाएको छ ।
जारी संहिता अनुसार अब विमानस्थलका कर्मचारीले ६ काम गर्नुपर्नेछ । अध्यागमनका कर्मचारीले प्रस्थान गर्ने यात्रुलाई कम्तीमा ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने छ ।
त्यस्तै, वाह्य मुलुकबाट नेपाल भित्रिनेलाई कम्तीमा ‘वेलकम इन नेपाल’, ‘ह्याभ अ नाइस डे’ भन्नुपर्ने, थोरै र आवश्यक प्रश्नहरू मात्रै गर्नुपर्ने, खाडी मुलुकहरू लगायतमा श्रमरकाम गर्न प्रस्थान गर्नेहरूसँग सम्मानजनक शब्दहरू प्रयोग गर्नुपर्ने कार्यालयले जारी गरेको संहितामा उल्लेख छ ।
त्यस्तै, रुखो व्यवहार गर्न नगर्ने, बोली वचनमा मिठासपन देखाउनेपर्ने जस्ता अनुशासन पालना गर्नुपर्नेछ ।
कर्मचारीहरूले संहिता पालना गरी सो अनुरुप व्यवहार गरे/नगरेको नियमन १५ वटा हेल्प डेस्क राखिने छ । यात्रुले तत्कालै ती हेल्प डेस्कमा कर्मचारीका व्यवहारको प्रतिक्रिया वा गुनासो गर्न सक्नेछन् ।


