काठमाडौं । अब ट्राफिक सचेतना कक्षा नागरिक एपबाटै लिन सकिने भएको छ । ट्राफिक प्रहरीले आइतबार (असार २९ गते)देखि अनलाइन ट्राफिक सचेतना कक्षा सुरू गरेको हो ।
एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका थिए । ट्राफिकले ज्ञानबजार प्रालि र नागरिक एपसँगको सहकार्यमा यो सेवा संचालनमा ल्याएको हो ।
यससँगै अब मादक पद्धार्थ सेवन, रोतो बत्ती, लेन अनुशासन तथा तीव्र गति उल्लंघनको कारबाहीमा परेकाहरूले घरमै बसेर नागरिक एपबाट सचेतना कक्षा लिन सक्नेछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, सूचना प्रविधि शाखाका इन्चार्ज (प्र.नि.) दीपेन्द्रप्रसाद शाहले अनलाइन कक्षा सुरू भएसँगै अब ट्राफिक कारबाहीमा परेकाहरू सचेतना कक्षा लिन सम्बन्धित कार्यालयहरूमा धाउनुनपर्ने बताए । कारबाहीमा परेका चालकले घरमै बसेर नागरिक एपबाट कक्षा लिन सक्ने उनले बताए ।
अनलाइन कक्षा लिनका लागि भने चालक अनिवार्य नागरिक एपमा आबद्ध भएको हुनुपर्ने उनले बताए । उनका अनुसार ई चलान (डिजिटल चिट) काटिएका, नागरिक एपबाट सवारी चालक अनुमति पत्र देखाएर चिट काटिएका र भौतिक रूपमा चिट काटिएका सबैले अनलाइन कक्षा लिनसक्ने छन् ।
‘आइतबारदेखि अनलाइन सचेतना कक्षा सुरू भएको छ । कारबाहीमा परेका व्यक्तिले घरमै बसेर नागरिक एपबाटै अनलाइन कक्ष लिन सक्नेछन् । डिजटल चिट काटिएका, भौतिक रूपमा चिट काटिएका सबैले कक्षा लिन सक्नेछन्,’ उनले मरोअटोसँग भने ।
यद्यपि, भौतिक रूपमा चिट काटिएकाहरूले कक्षा लिई सकेपछि आफ्नो लाइसेन्स ब्लूबुक लिन भने सम्बन्धित ट्राफिक कार्यालयमै जानुपर्ने उनले बताए ।
यसरी लिनुहोस् अनलाइन सचेतना कक्ष
- सबैभन्दा पहिला नागरिक एप खोल्नुहोस् ।
- एपको माथि देखिने ट्राफिक सचेतना कक्षाको लिंक टेक अनलाइन क्लासको अप्सन थिच्नुपर्नेछ। त्यहाँ टर्म एन्ड कन्डिसन पढेर ‘कक्षामा सम्मिलित हुनुहोस्’ भन्ने बटनमा थिच्नुहोस् ।
- त्यसपछि एउटा फरम्याट देखिनेछ। त्यहाँ आफ्नो दुवै कान देख्ने गरी ‘फोटो लिइनुहोस्’ मा थिच्नुहोस् । र, थ्रेसहोल्डमा ध्यान दिँदै कक्षा पढ्नुहोस् ।
- त्यसपछि एउटा भिडिओ प्रसारण हुन्छ । भिडिओ सकिएपछि ६ वटाको डिस्प्ले देखा पर्छ । जहाँ ६ वटा प्रश्न मध्ये तीन वटा प्रश्नको अनिवार्य सही उत्तर मिलाउनु पर्ने हुन्छ । ३ वटा उत्तर मिलाउन नसकेमा डिस्कनेक्टेड हुनेछ ।
- कक्षा सफल भएपछि नागरिक एपबाट टेक अनलाइन क्लास हट्नेछ ।
पालना गर्नुपर्ने नियम
अनलाइन कक्षामा जोडिएपछि मोबाइलको क्यामेरा आफ्नो अनुहार तिर फर्काइराख्नुपर्नेछ । अनलाइन कक्षाको बेला एआइले सुरूदेखि अन्त्यसम्म सेवाग्राहीको अनुहारलाई मोनिटरिङ गरिरहन्छ ।
कक्षाको क्रममा क्यामेरा १ मिनेटसम्म अफ भए वा उक्त अनुहार नपाएमा तथा तीन अलर्ट मेसेज आएमा वा ६ प्रश्न मध्ये कम्तीमा तीन प्रश्नको सही उत्तर नदिएमा कक्षा स्वतः डिसकनेक्ट हुनेछ ।
एकपटक डिसकनेक्ट भएपछि सो व्यक्तिले पुन १२ घण्टापछि मात्र सचेतना कक्षामा सहभागी हुने पाउने छ । उक्त कक्षा अर्को दिन पनि पूरा नभएमा उक्त व्यक्ति सवारी दर्ता किताब र सडक इजाजत पत्रको कारबाहीमा तोकिएको सम्बन्धित कार्यालयमा भौतिक रूपमा उपस्थित भइ कक्षा लिनुपर्नेछ ।

