जुम्लामा विद्युतीय भ्यान संचालन गरिँदै, ९ वटा डीएफएसके डाँफे हस्तान्तरण

काठमाडौं । जुम्लामा पहिलोपटक विद्युतीय सवारीसाधन संचालन हुने भएको छ । दिगोले तिला कर्णाली यातायात सेवा प्रालिलाई ९ वटा डीएफएसके डाँफे विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको हो ।

डीएफएसके डाँफे विद्युतीय भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछ । यसले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्नेछ।

साथै, इन्धनमा निर्भरता घटाउने र वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन, दिगोले गाडीसँगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्दैछ । थप चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार र नाग्मा-गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना गरिएको छ।

दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरव श्रेष्ठ भन्छन्, ‘जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु हाम्रो लागि गर्वको कुरा हो। यस उपलब्धीले विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरीनै देशभरि विद्युतीय सवारीसाधनको पहुचलाई विस्तार गरिरहने छौँ ।’

दिगो ग्रुप अफ कम्पनीजले नेपालमा विद्युतीय सवारीको मात्र नभई यसको सम्पूर्ण इकोसिस्टमको विस्तार गरिरहेको छ।

दिगोले देशभर विद्युतीय सवारी साधनको बिक्री, वितरण, सर्भिस, स्पेयर पार्टस, लिजिङ, चार्जिङ पूर्वाधार तथा राजमार्गमा आधुनिक रेस्ट स्टप उपलब्ध गराउँदै आएको छ।


Back_to_top