काठमाडौं । सरकारले निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्गका लागि थप सवा ५ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने भएको छ ।
३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गका लागि जापान सरकारबाट ५ अर्ब ३० करोड १० लाख रुपैयाँ (५ अर्ब ७० करोड जापानी येन) बराबर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।
निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङको अनुमानित लागत २२ अर्ब रुपैयाँ रहेको छ । यो सुरुङ निर्माणका लागि सरकारले यसअघि नै जापानसँग १६ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
देशकै पहिलो सुरुङमार्ग आगामी पुसदेखि संचालनमा ल्याउने तयारी छ । हालसम्म आयोजनाको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
आयोजनाको मुख्य सुरुङमार्ग भित्र भेन्टिलेसन, फायर फाइटिङ, टेलिफोन, सेफ्टी, सीसीटीभ, बिजुली बत्ती जडान सम्पन्न भएसँगै प्राविधिक परीक्षण सुरू भइसकेको छ ।
त्यस्तै, आयोजना अन्तर्गत ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, १ ओभर पास र ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । बलम्बुमा १२८ मिटर लामो फ्लाइओभर ओभर निर्माण पनि सम्पन्न भइसकेको छ ।
आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २ हजार ५५७ मिटर लामो अपतकाली सुरुङ २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो ।
त्यस्तै, ९ हजार ९५६.११ मिटर एप्रोच, र्याम्प र अन्य सडक निर्माण गर्नुपर्नेमा हालसम्म ७ हजार ९९६ मिटर सम्पन्न भइसकेको छ । अब १ हजार ९६० मिटर सडक निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । यो सुरुङ जापानी कम्पनी हाज्मा/आन्दो जेभीले निर्माण गरिरहेको हो ।
निर्माण अन्तिम चरणमा पुगेसँगै आयोजनाले सुरुङमार्ग संचालनका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी छ । नेपालसँग सुरुङमार्ग संचालनको अनुभव नभएकाले अन्तर्राष्ट्रियस्तरको सर्भिस प्रोभाइडर कम्पनी ल्याइने छ । टेन्डर आह्वानका लागि कार्यविधि समेत बनिसकेको छ ।

