काठमाडौं । सरकारले मर्मत गर्दा समेत नचल्ने सवारी साधन, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू ६ महिना भित्र लिलाम बिक्री गर्न निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै सबै मन्त्रालय र सरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो ।
यससँगै अब सरकारी निकायमा रहेका पुराना सवारी साधन मर्मत सम्भार गर्दा पनि नचलेमा ६ महिनाभित्र लिलामी बिक्री गरिसक्नुपर्नेछ ।
‘मर्मत सुधार गर्दा समेत संचालनमा नआउने सवारी साधन, फर्निचर, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरु अनिवार्य रूपमा ६ महिना भित्र लिलाम बिक्री गर्नु हुनेछ,’ मार्गदर्शनमा भनिएको छ ।
त्यस्तै, सरकारी निकायले अत्यावश्यक अवस्थामा नयाँ चारपाँग्रे सवारी साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयको पूर्व सहमति लिन भनेको छ ।


