गत आवमा आए १२ हजार विद्युतीय प्यासेन्जर कार, कुन सेग्मेन्टमा कति ?

काठमाडौं ।विद्युतीय कारको प्रयोग व्यापक भएसँगै आयात पनि ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ११ हजार ९५२ युनिट विद्युतीय प्यासेन्जर कार आयात भएको छ ।

यो अघिल्लो आव २०८०/८१ को कुल कार आयात भन्दा पनि धेरै हो ।आव २०८०/८१ मा विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने कार मिलाएर कुल ११ हजार ७०२ युनिट आयात भएको थियो । भर्खरै सकिएको आर्थिक वर्षको त्योभन्दा धेरै विद्युतीय कार आयात भएका हुन् ।

आयात तथ्यांकका आधारमा सबैभन्दा धेरै कार कम्प्याक्ट एसयूभी सेग्मेन्टमा देखिन्छ । यो सेग्मेन्टमा गत वर्षको साउन १ गतेदेखि यस वर्षको असार मसान्तसम्ममा ५ हजार ९५५ युनिट कम्प्याक्ट एसयूभी आयात भएका छन् । यो सेग्मेन्टमा आयात भएका ईभीमा धेरै जसो मोडलमा ९९ र १०० किलोवाट क्षमताका इलेक्ट्रीक मोटर थिए ।

दोस्रो धेरै आयात प्रिमियम ह्याचब्याक सेग्मेन्टमा भएको छ । उक्त सेग्मेन्टमा डल्फिन र नामी जस्ता मोडल समावेश छन् । यो सेग्मेन्टमा २ हजार ४६० युनिट कार आयात भएको छ ।

ट्याक्सीको रूपमा प्रयोग हुँदै आएका धेरै र केही सेडान कारकै रूपमा आयात भएका विद्युतीय मोडलको आयात तेस्रो धेरै देखिन्छ । यो सेग्मेन्टमा एक वर्षको अवधिमा १ हजार ४९७ युनिट कार आयात भएका छन् । यसमा सबैभन्दा ठूलो हिस्सा टाटा एक्सप्रेस-टीको छ ।

अन्य फ्यामली ह्याचब्याक सेग्मेन्टमा ७२६ युनिट कार आयात भएको छ । यो सेग्मेन्टलाई पनि टाटा टियागोले नै नेतृत्व गरिरहेको छ । साथै, मिनी कार सेग्मेन्टमा पनि ४७८ युनिट आयात भएको देखिन्छ ।

एमपीभी सेग्मेन्टमा पनि २४२ युनिट गाडी आयात भएको छ । यसमा लगभग एकलौटी बजार हिस्सा बीवाइडी एम-सिक्सको छ ।

प्रिमियम कार सेग्मेन्टमा ३४० युनिट गाडी आयात हुँदा प्रिमियम एसयूभी सेग्मेन्टमा २५४ युनिट गाडी आयात भएको छ । यसले समग्र ईभीको बजारलाई देखाउने छ । यसमा पीकअप र भ्यान आयातको तथ्यांक समावेश गरिएको छैन ।


Back_to_top