काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले आगामी महिना ४ नयाँ एसयूभीको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ ।
विगतका वर्षहरूमा जस्तै महिन्द्राले भारतको स्वतन्त्रता दिवस पारेर अगस्ट १५ मा भिजन टी, भिजन एस, भिजन एसएक्सटी र भिजन एक्स गरी चार नयाँ कन्सेप्ट देखाउने भएको हो ।
महिन्द्राले ल्याउन लागेको सबै भिजन सिरिजका गाडी एसयूभी डिजाइनमा आउने छन् । ‘फ्रिडम एनयू’ नाम दिएर एक कार्यक्रम आयोजना गर्दै महिन्द्राले नयाँ कन्सेप्टहरू देखाउने भएको हो ।
महिन्द्राले सार्वजनिक गर्ने यी एसयूभीहरू पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रीक सबै प्रकारका इन्धनबाट चल्ने अनुमान गरिएको छ ।
भिजन टी
महिन्द्राले केही दिन अगाडिदेखि नै भिजन टी कन्सेप्टको टिजर सार्वजनिक गरिरहेको छ । महिन्द्राको भिजन टीले थारलाई प्रतिनिधित्व गर्ने अनुमान गरिएको छ ।
कम्पनीले सन् २०२३ मै इलेक्ट्रीक थारको कन्सेप्ट देखाएको थियो । अहिले देखाइएको टिजर अनुसार नयाँ इलेक्ट्रीक थारमा बक्सी स्टाइलिङ, एक्सटेन्डेड बम्पर, चंकी ह्वील आर्क, अफरोडमा प्रयोग हुने टायर र बोनेट ल्याचेचहरू देखिएको छ ।
भिजन एस
भिजन एसको टिजर अनुसार यो नयाँ एसयूभी स्कर्पियो एनमा आधारित रहेको देखिन्छ । कन्सेप्टको तस्बिर हेर्दा ‘नेक्स्ट जेनेरेशन स्कर्पियो एन’ नै भिजन एस हुने अनुमान गरिएको छ ।

महिन्द्राले भिजन एसलाई अल इलेक्ट्रीक र हाइब्रिड मोडलमा समेत ल्याउन सक्नेछ । भिजन एसमा अहिलेको स्कर्पियो मोडलजस्तै बक्सी डिजाइन र अफरोड क्यापाबिलिटी हुनेछ । मिडिया रिपोर्टहरूको अनुसार भिजन एसको उत्पादन सन् २०२६ बाटै सुरू हुनेछ ।
भिजन एसएक्सटी
टिजरमा देखिए अनुसार भिजन एसएक्सटीमा स्कर्पियोको रगेड भर्सन हुने अनुमान गरिएको छ । यो सन् २०२३ मा देखाएको ग्लोबल पीकअप कन्सेप्टको उत्पादन मोडल हुनसक्छ ।
महिन्द्राको नयाँ पीकअप ट्रक स्कर्पियो एन एसयूभीमा आधारित रहेर बन्ने छ । टिजरमा देखिए अनुसार यसमा कामसेल बोनेट, फ्लेयर्ड ह्वीलआर्क, प्रमिनेन्ट फ्रन्ट देख्न सकिन्छ । महिन्द्राले यसलाई आइसीइ इन्जिनमा पनि ल्याउने छ ।
भिजन एक्स
महिन्द्राले देखाउने चार कन्सेप्ट मध्य भिजन एक्स सबैभन्दा अन्तिम हो । भिजन एक्सको टिजर हेर्दा यो कम्प्याक्ट र सोफिस्टिकेटेड एसयूभी हुने सम्भावना छ । यो एसयूभी फेमिली ओरियन्टेड अर्वान एसयूभी हुनसक्छ ।
टिजरमा देखिए अनुसार नयाँ एसयूभीमा क्लियर लाइन, सार्प बडी स्टाइलिङ देख्न सकिन्छ । भिजन एक्सलाई महिन्द्राले आइसीई र अल इलेक्ट्रीक दुवै पावरट्रेन ल्याउने अनुमान गर्न सकिन्छ ।

