काठमाडौं । बाढी पहिरोका कारण देशभरका ८ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।
नेपाल प्रहरीका अनुसार सोमबार बिहान १० बजेसम्म ८ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ५ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको कोदारीम पहिरो आउँदा अरिनिको राजमार्ग, नुवाकोटको चालिसेमा पहिरो खस्ला मध्यपहाडी राजमार्ग, रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट–डोल्पा भेरी करिडोर, हुम्लाको सिमकोटमा पहिरो खस्दा कर्णाली करिडोर र जाजरकोटको दखेरी भीरमा पहरो आउँदा मध्य पहाडी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं–नुवाकोट, कालिगण्डकी करिडोरको बागलुङ र नवलपरासी पूर्व, सहिद राजमार्ग भने एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।


