काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको समस्या समाधान गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
आइतबार साँझ सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग फास्ट ट्र्याकको ब्रिफिङ लिँदै उनले स्थानीयको समाधान गर्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको छ ।
खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ ।
छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयवासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए।
छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।


