अमेरिकी उपभोक्ताको नजरमा उत्कृष्ट ३ इलेक्ट्रीक क्रसओभर

काठमाडौं । विश्वभर चिनियाँ विद्युतीय कार (ईभी)को प्रभुत्व बढ्दै गए पनि अमेरिकीहरू भने चिनियाँ कारलाई हिसाब किताबमै राख्दैनन् । उसोत अमेरिकी सरकारले पनि चिनियाँ विद्युतीय कारलाई सहज ‘इन्ट्री’ दिएको छैन ।

अमेरिका विश्वकै अग्रणी बजार मानिन्छ । हरेक देशले उत्पादन गरेका विशिष्ठकृत वस्तुहरू अमेरिकी बजारमा बिक्री गर्ने चाहना राख्छन् । तर, उसलाई मन नपरेको देशका उत्पादनले सहजै अमेरिकी बजारमा प्रवेश भने पाउँदैनन् ।

त्यसैले अमेरिकामा उत्कृष्ट विद्युतीय कारको चर्चा हुँदा चिनियाँ मोडल गन्तीमै आउँदैनन् । खासगरी अमेरिकी, युरोपियन र जापान तथा दक्षिण कोरियामा उत्पादन भएका कारहरू नै धेरै रुचाइएको मोडलमा पर्छन् ।

अहिले अमेरिकामा सबैभन्दा रुचाइएका विद्युतीय कारहरूको नाम लिँदा निम्न मोडलहरू अगाडि आउँछन् । जसले अमेरिकी उपभोक्ताको ईभी चढ्ने चाहना पूरा गर्दै आएका छन् ।

टेस्ला मोडल वाई

अमेरिकी बजारमा ४६ हजार ६३० डलर सुरूवाती मूल्य रहेको टेस्ला मोडल वाई सर्वाधिक सफल मोडल हो । यसले धेरै अमेरिकीहरूको पावरफुल र लग्जरी इलेक्ट्रीक कार चढ्ने सपना पूरा गरेको छ ।

यसलाई अमेरिकामा उत्कृष्ट मूल्यमा पाइने पफर्मेन्स र टेक फिचरले भरिपूर्ण कार मानिन्छ । अमेरिकाको आफ्नै ब्राण्डको रूपमा यसले विश्व बजारमा पनि राजगर्न सफल छ । त्यसैले पछिल्ला वर्षमा टेस्ला मोडल वाई विश्वकै सबैभन्दा बढी बिक्री हुने सिंगल मोडल हो । यसको रेन्जले पनि धेरैलाई प्रभावित बनाउँदै आएको छ । रियर ह्वील र अल ह्वील ड्राइभमा उपलब्ध टेस्ला मोडल वाई धेरै ईभी प्रेमीको ड्रिम कार पनि हो ।

टेस्ला मोडल वाईको रियर ह्वील ड्राइभ मोडलमा ६० किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । जबकि यसको अल ह्वील ड्राइभ र पर्फमेन्स मोडलमा ७५ किलोवाट आबरको एनएमसी ब्याट्री पाउन सकिन्छ ।

मोटरको कुरा गर्नुपर्दा यसको रियर ह्वील ड्राइभमा २२० किलोवाट, अल ह्वील ड्राइभमा ३३१ किलोवाट र पर्फमेन्स मोडलमा ३९३ किलोवाट पीक पावर छ । रेन्ज भने ५०० किलोमिटरसम्म पाउन सकिन्छ ।

हुन्डाई आयोनिक-फाइभ

अमेरिकी बजारमा टेस्ला मोडल वाईपछि धेरैको रोजाइमा पर्दै आएको इलेक्ट्रीक कार हुन्डाई आयोनिक-फाइभ हो । यसको मुख्य विशेषता भनेको फ्युचरस्टिक डिजाइन र उत्कृष्ट पर्फमेन्स हो । यसको निकै क्लिन र मोर्डन इन्टेरियरले धेरैलाई लोभ्याएको छ ।

आयोनिक-फाइभ पनि रियर ह्वील र अल ह्वील ड्राइभ भर्सनमा उपलब्ध छ । कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा बनाएको क्लासिक क्रसओभर मोडल तीव्र रिचार्जको लागि पनि परिचित रहेको छ । आफ्नो डिजाइन, लुक, पावर र पर्फमेन्सको कारण आयोनिक-फाइभले धेरै अमेरिकीको मन जित्न सफल भएको हो ।

हुन्डाई आयोनिक-फाइभमा ६३ र ८४ किलोवाट आवरको एनएमसी ब्याट्री दिइएको छ । जहाँ रियर ह्वील ड्राइभ सर्ट रेन्जमा ६३ किलोवाटको ब्याट्री छ । यसले ३५० किलोमिटरसम्म रेन्ज दिन्छ । ठूलो ब्याट्री ८४ किलोवाट आवरको छ । यसले ५५० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।

अमेरिकी बजारमा यसको रियर ह्वील ड्राइभमा १६८ किलोवाट र अल ह्वील ड्राइभमा २३९ किलोवाट क्षमताको मोटर दिइएको छ ।

चेभी इक्विनोक्स

अमेरिकी ब्राण्ड चेभ्रोलेटको ‘चेभी इक्विनोक्स’ मोडल पनि धेरै मानिसको रोजाइमा पर्दै आएको छ । कम्पनीले सन् २०२४ मा बजारमा उतारेको चेभी इक्विनोक्स मोडल मूल्यका हिसाबले पनि मोडल वाई र आयोनिक-फाइभभन्दा सस्तो छ ।

अमेरिकामा कर छुटपछि केबल २८ हजार डलरमै खरिद गर्न सकिने भएको कारण यसलाई रोज्ने धेरै छन् । यसको ड्राइभ क्वालिटी र ह्याण्डलिङ उत्कृष्ट रहेको अमेरिकी कार रिभ्यूअरहरूले दाबी गरेका छन् ।

यसको बलियो पक्ष भनेकै मूल्य हो । कम मूल्यमा उत्कृष्ट ईभीको मज्जा लिन पाइने भएकै कारण अमेरिकामा यसले बलियो उपस्थिति बनाउन सफल भएको छ ।

चेभी इक्विनोक्स मोडल फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध छ । यसमा निकै ठूलो ८५ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा फ्रन्ट ह्वील ड्राइभमा १६० र अल ह्वील ड्राइभमा २२० किलोवाट क्षमताको मोटर दिइएको छ । यसको अधिकतम रेन्ज ५१० किलोमिटरसम्म छ ।


Back_to_top