चीनबाट ईभी आउने नाका सुनसान, केही नयाँ मोडल भने देखिँदै

काठमाडौं । अबको ३ साता भित्र काठमाडौंमा दुईवटा अटो शो आयोजना हुँदैछ । साउन २१ गतेदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ र भदौ ३ गतेदेखि ‘नाडा अटो शो २०२५’ आयोजना हुँदैछन् ।

सोही अनुसार अटोमोबाइल व्यवसायीले अटो शोको तयारी तीव्र पारेका छन् । यसपटक दुई अटो शोमा गरी व्यवसायीले करिब २ दर्जन नयाँ मोडल तथा ब्राण्डका ईभी सार्वजनिक गर्ने अनुमान गरिएको छ । तीमध्ये आधा दर्जन बढी नयाँ ईभी नेपाल आइसकेका छन् ।

अझै अटो शोमा देखाउने करिब डेढ दर्जन नयाँ गाडी आउनै बाँकी छ । काठमाडौंमा अटो शोको माहोल तयार भइरहँदा ईभी भित्रिने मुख्य नाका भने सुनसान जस्तै छन् ।

नेपालमा ईभी भित्रिने मुख्य दुई नाका हुन् रसुवागढी र तातोपानी । ल्हेन्दे खोलामा आएको बाढीले चीन–नेपाल जोड्ने पुल बगाएपछि रसुवागढी नाका असार २४ गतेदेखि ठप्प छ । अझै कहिले खुल्छ टुंगो छैन । व्यवसायीले सो अगावै केरुङ हुँदै ल्याउन लागेका गाडी पनि काठमाडौं ल्याउन सकेका छैनन् ।

चीनसँगको दोस्रो ठूलो व्यापारिक नाका पनि सुनसान नै छ । रसुवागढी नाका बन्द भएपनि तातोपानीबाट पनि खासै सवारी साधन नभित्रिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले बताए ।

उनका अनुसार साउन लागेपछि ८ युनिट मात्रै सवारी साधन भन्सार कार्यालयमा आइपुगेका छन् । जसमा ५ ब्राण्डले १÷२ युनिट मात्रै ईभी ल्याएका हुन् ।

‘बजेट पछिदेखि नै भन्सार कार्यालयमा खासै नयाँ गाडी आएका छैनन् । साउनको १० दिनमा ८ युनिट मात्रै नयाँ गाडी आएका छन् । तीमध्ये केही भन्सार जाँचपास भए भने केही बाँकी नै छ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार साउन लागेपछि लीपमोटर, कामा, नामी, दीपल, जेको ब्राण्डका ईभी आएका हुन् । अटो शोलाई लक्षित गरी व्यवसायीले थप केही नयाँ गाडी ल्याएको हुनसक्ने भए पनि भन्सारसम्म आइ नपुगेको उनले बताए ।

‘व्यवसायीले अटो शोलाई केही नयाँ गाडी ल्याएका होलान् । तर, मानसरोवर जाने/आउने यात्रुको चापका कारण भन्सार आइपुग्न ढिलाइ भएको हुनसक्छ । अब केही दिनमा आइपुग्छन् होला,’ प्रबक्ता काफ्लेले भने ।

त्यस्तै, व्यवसायीले अटो शोमा देखाउने केही नयाँ गाडी भने भारत हुँदै पनि ल्याइरहेको बताइएको छ । भारत हुँदै आउने ईभी मुख्गरी भैरहवा र वीरगंज नाका हुँदै भित्रिन्छन् । ती दुवै नाकामा भने कुनै समस्या छैन ।

अहिले अधिकांश व्यवसायीले अटो शोमा देखाउने नयाँ गाडी १/२ युनिट मात्रै ल्याइरहेका छन् । व्यवसायीले कर बढ्ने हल्लाका कारण बजेट अघि नै साढे ५ हजार युनिट ईभी ल्याएका थिए । यद्यपि, बजेटमा ईभीको करको दर यथावत राखिएको थियो ।

बजेट अघि ल्याएका करिब ४ हजार बढी गाडी अहिले स्टकमै छन् । त्यसैले नयाँ ब्राण्ड र मोडल बाहेक अन्य गाडी आयात नगरेका हुन् ।


Back_to_top