बजारमा हलचल ल्याउन सक्ने दुई इलेक्ट्रीक स्कुटर, एक सातापछि लन्च हुँदै

काठमाडौं । यही साउन २१ गतेदेखि पहिलो पटक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्पोमा डेढदर्जन ब्राण्डका दुईपाँग्रे सवारीसाधन प्रदर्शनीमा हुने छन् ।

यो एक्स्पोमा इलेक्ट्रीक दुईपाँग्रेको बाहुल्यता हुनेछ । आइस इन्जिन भएका ब्रान्डहरूको सहभागीता भएता पनि एकाध ब्राण्ड बाहेक सबै ईभीमै फोकस हुने देखिन्छन् ।

यस्तोमा साउन २१ गते दुई इलेक्ट्रीक स्कुटर पहिलोपटक सार्वजनिक हुने तयारीमा छन् । जसले नेपालको दुईपाँग्रे बजारमै हलचल ल्याउने सक्ने देखिन्छ ।

आइस इन्जिन भएको मोटरसाइकल बिक्री गर्दै आएको बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतक नाइमामा सार्वजनिक गर्दैछ । त्यस्तै नेपालमा पछिल्लो समय भित्रिएर निकै चर्चा पाइरहेको एथर ब्रान्डले रिज्टा स्कुटर सार्वजनिक गर्दैछ ।

यी दुवै स्कुटर भारतमा उत्पादन भएका स्कुटर हुन् । एथरले २०२५ मोडलका स्कुटर सार्वजनिक गर्दै केही समय अगाडि स्कुटरको मूल्य घटाएको थियो भने, एथर रिज्टाको मूल्य आक्रामक राख्ने अनुमान गर्न सकिन्छ ।

बजाजले निकै लामो समयदेखि नेपालमा परीक्षण गरिरहेको चेतक स्कुटरको मूल्यमै प्रतिस्पर्धा गर्ने तयारीमा हंशराज हुलाश चन्द एण्ड कम्पनी रहेको छ ।

एथरले रिज्टाको बुकिङ नै लिन सुरू गरिसकेको छ भने बजाज चेतकको लागि कम्पनीले नक्सालमा डेडिकेटेड शोरुम तयार पारिसकेको छ ।

नेपालमा बजाजको नेटवर्क बनाएको कम्पनीले सार्वजनिक गर्ने स्कुटर चेतकले आफ्नो नेटवर्कको फाइदामा चेतक स्कुटरलाई स्थापित गर्न सक्छ । कम्पनीले लामो समयदेखि मूल्यमै प्रतिस्पर्धा गर्ने तयारीका साथ बजार मूल्यांकनको काम गरिरहेको छ ।

त्यस्तै, छोटो समयमै आफ्नो सर्भिस र नेटवर्क विस्तामा आक्रामक रहेको वैद्यज इनर्जीले कम मूल्यको फ्यामिली स्कुटर रिज्टा सार्वजनिक गर्दैछ । एथर ४५० नेपाली बजारमा निकै चर्चित मोडल हो । एथर ४५० मा भएको सबैजसो फिचर एथर रिज्टामा पाउन सकिन्छ भने मूल्यका हिसाबमा रिज्टा कम हुने देखिन्छ ।

३ लाख हाराहारीमा सार्वजनिक हुने हो भने यी दुवै स्कुटरले नेपालमा इलेक्ट्रीक दुईपाँग्रे बजारमा तरंग ल्याउन सक्ने देखिन्छ ।

यी दुवै कम्पनीले कती मूल्यमा स्कुटर सार्वजनिक गर्छन त्यो हेर्न भने केही दिन अझै कुर्नुपर्ने हुन्छ ।

चेतक इलेक्ट्रीक स्कुटर

बजाजले भारतमा चेतकको ३५०१, ३५०२ र ३५०३ भेरियन्ट बिक्री गर्दै आएको छ । नेपालमा पनि यही मध्ये एक भेरियन्ट उपलब्ध हुनेछ ।

चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ । यसको फ्लोरबोर्डमा ब्याट्री प्लेस गरिएको छ भने, यसले १५३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यसका अलावा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ ।

एथर रिज्टा

भारतमा एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट यसको टप भेरियन्ट हो ।

यो स्कुटरको रेन्ज क्रमशः १०५ र १२५ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४-लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।


Back_to_top