काठमाडौं । बाढी पहिरोका कारण देशभरका ८ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।
नेपाल प्रहरीका अनुसार मंगलबार बिहान १० बजेसम्म ८ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ६ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको कोदारीम पहिरो आउँदा अरिनिको राजमार्ग, लमजुङको मर्याङ्दी गाउँपालिका हावाडाँडामा पहिरो आउँदा बेँसीशहर-मनाङ सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
त्यस्तै, गुल्मीको सत्यवती गाउँपालिका डहरेखोलामा बाढी आउँदा रुद्रवेणी-वामी सडक, गुल्मीकै चन्द्रकोटमा पहिरो आउँदा रिडी–वामी सडक, रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट-डोल्पा भेरी करिडोर र बैतडीको पाटनमा पहिरो आउँदा दशरथ चन्द राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, कालिगण्डकी करिडोरको बागलुङ र नवलपरासी पूर्व, पृथ्वी राजमार्ग र सहिद राजमार्ग भने एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।


