काठमाडौं । ज्योति ग्रुप अन्तर्गतको हिमाल मोटर नेपाल प्रालिको व्यापार झण्डै ८ गुणाले बढेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२५ को ११ महिनामा ३ अर्ब १४ करोड रुपैयाँ संचालन आम्दानी गर्ने प्रक्षेपण गरेको हो ।
यो कम्पनीको सन् २०२४ को वर्षभरीको आम्दानीको तुलनामा ६८९.१९ प्रतिशत धेरै हो । कम्पनीले सन् २०२४ मा ३९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सो वर्ष कम्पनीको कुल आम्दानीमा होण्डा स्कुटरको हिस्सा ६५ प्रतिशत थियो ।
कम्पनीले साढे ६४ करोड दीर्घकालीन र १ अर्ब ४५ करोड अल्पकालीन गरी कुल २ अर्ब ९ करोड रुपैयाँ ऋण लिन रेटिङ गराएको हो ।
इक्राले कम्पनीलाई दीर्घकालीन ऋणका लागि ‘इक्रा एनपी एबीबी’ र अल्पकालीन ऋणका लागि ‘ए फोर’ रेटिङ दिएको छ ।
सन् २०२० मा स्थापना भएको कम्पनीले रुपन्देहीमा दुईपाँग्रे सवारी एसेम्बल प्लाण्ट संचालन गरिरहेको छ । कम्पनीले भारतबाट सीकेडी ल्याएर नेपालकै होण्डाका स्कुटर तथा मोटरसाइकल उत्पादन गर्दै आएको छ । उक्त प्लाण्टको वार्षिक उत्पादन क्षमता १ लाख युनिट रहेको छ ।
कम्पनीको अध्यक्ष उद्योगी सौरभ ज्योति रहेका छन् ।


