सीएटीएलको ब्याट्री ‘रिपियर सर्भिस’, फेर्नभन्दा बनाउन निकै सस्तो पर्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो हाइ भोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले खोलेको आफ्टर मार्केट ब्राण्ड ‘निङ सर्भिस’ले आफ्नो पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा सीटीपी ब्याट्री रिपियर सर्भिस लन्च गरेको छ ।

चिनियाँ बजारमा न्यू इनर्जी भेहिकलको बिक्री हिस्सा ५० प्रतिशत नाघेपछि निङ सर्भिसले आक्रमक सर्भिस विस्तारको राणनीति लिएको हो । सीएटीएलले धेरै संख्यामा विद्युतीय गाडी सडकमा गुडिरहेको र कम्पनीले दिएको ब्याट्रीमा वारेन्टी सकिन थालेसँगै नयाँ सर्भिस कम्पनी स्थापना गरेको हो ।

पछिल्ला वर्षहरूमा धेरै इनर्जी डेन्सिटी भएको ब्याट्रीको माग बढ्नाले र सेल टु प्याक टेक्नोलोजी प्रयोग बढ्दै जाँदा ब्याट्रीको मर्मत थप जटिल बन्दै गएको छ । धेरै कम्पनीले त्यस्ता ब्याट्री प्याकहरू रिपियर गर्नुभन्दा रिप्लेस नै गर्ने कि भन्ने सोचाइ राख्न थालेका छन् ।

ब्याट्री परिवर्तन ईभीमा सबैभन्दा महँगो हो । ब्याट्री फेर्दा गाडीको कुल मूल्यको ५० प्रतिशतसम्म खर्च आउने गरेको छ । तर, सीएटीएलको नयाँ कम्पनी निङ सर्भिसले भने मर्मत खर्च नयाँ फेर्नभन्दा सस्तो पर्ने जनाएको छ ।

निङ सर्भिसका अनुसार ईभीमा रहेको ब्याट्री फेर्न १० हजार डलर लाग्छ भने मर्मत गर्न केबल १ देखि २ हजार डलरसम्म पर्छ । कम्पनीले अहिलेलाई सीएटीएलले बनाएको ब्याट्री प्याकमा मात्रै सेवा उपलब्ध गराउने छ ।

सन् २०१५ मा नै स्थापना भएको निङ सर्भिस सीएटीएलको एउटा डिपार्टमेन्ट मात्रै थियो । अघिल्लो वर्ष मात्रै यसलाई इन्डिपेन्डेन्ट युनिट बनाइएको हो ।

निङ सर्भिसको विश्वका ७५ देशमा ११०० वटा सर्भिस आउटलेट छ । यो कम्पनीको मुख्य काम ब्याट्री परीक्षण र मेन्टिनेन्स हो । साथै, प्रयोग भएको ब्याट्रीको इन्सपेक्सन र रिफर्बिस र रिसाइकल जस्ता काम पनि कम्पनीले गर्छ ।


Back_to_top