काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोबाइल निर्माता मारुती सुजुकीले पहिलो इलेक्ट्रीक भेहिकलको उत्पादन सुरू गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सुजुकी मोटर कर्पोरेशनका प्रेसिडेन्ट तोहिहिरो सुजुकीले संयुक्त ई-भिटारको फ्ल्यागअफ गरेका हुन् ।
मारुती सुजुकीको पहिलो व्यवसायिक उत्पादन सुरू भएको अवसरमा फ्यालगअफ कार्यक्रम राखिएको थियो । सुजुकीले ई-भिटारा भारतमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने छ ।
केही दिनअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाडा अटो शो २०२५ मा पनि ई-भिटारा राखिएको थियो । भारतको गुजरातमा लिथियम आयोन ब्याट्री उत्पादन गर्ने कम्पनी खोलेर सुजुकीले कार उत्पादन थालेको हो । उक्त ब्याट्री उत्पादन गर्ने कम्पनी मारुती सुजुकीको सहायक कम्पनी हो । जहाँ जापानी कम्पनीहरू तोसिवा कर्पोरेशन र देन्सो कर्पोरेशनको समेत लगानी रहेको छ ।
जापानीज अटोमोबाइल जायन्ट टोयोटा र सुजुकी मिलेर बनाएको डेडिकेटेड स्केटबोर्ड ईभी प्लेटफर्ममा बनेको ई-भिटाराको पहिलो ब्याच युरोपियन बजारहरू युनाइटेड किङडम, जर्मनी, नर्वे, फ्रान्स र नेदरल्याण्ड जस्ता देशमा निर्यात गर्न लागिएको कम्पनीले जनाएको छ ।
भारतमा धेरै अन्तर्राष्ट्रिय कम्पनीहरूले विभिन्न ब्राण्डका विद्युतीय गाडी एसेम्बल गरेर बिक्री गरिरहेकोमा सुजुकीले भने भारतमै उत्पादन गरेर निर्यात थाल्न लागेको हो । सुजुकीले आफ्नो उपस्थिति रहेको १०० भन्दा धेरै देशमा ई-भिटारा निर्यात गर्ने जनाएको छ ।
कम्प्याक्ट मिड साइज इलेक्ट्रीक एसयूभी ई-भिटारामा ४९ र ६१ गरी दुई फरक ब्याट्री अप्सन छ ।

