नेपालमा ग्रीन हाइड्रोजन प्लाण्ट स्थापना गर्न कोरियाली कम्पनीसँग सम्झौता

काठमाडौं । ग्रीन हाइड्रोजन प्लाण्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्न दक्षिण कोरियाली कम्पनी जि-फिलोस कम्पनी लिमिटेडसँग सम्झौता भएको छ ।

समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि-फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमूख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरे ।

समझदारी अनुसार प्रस्तावक कम्पनी जि-फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेश गर्नेछ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औंल्याए । उनले यस्ता परियोजनाहरूले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्यहरुको प्राप्तीमा कोशेढुङ्गा साबित हुने तथा नेपाल र दक्षिण कोरिया बीचको द्विपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

बोर्डका प्रमूख कार्यकारी अधिकृत ज्ञवालीले यस प्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाहरूले नेपाल जस्तो राष्ट्रमा पूँजी तथा प्रविधिको विनिमयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेश गर्ने विश्वास राख्दै ज्ञवालीले अध्ययन पश्चात यथासक्य छिटो नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रस्तावक कम्पनी जि-फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक-निजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका वैशाख १५ गते बोर्डमा प्रस्ताव पेश गरेको थियो । बोर्डको ६३औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।


Back_to_top