उपत्यकामा दर्ता भएका सवारीको ‘ढड्डा’ धमाधम डिजिटाइज, १.३० लाख फाइल स्क्यान

काठमाडौं । काठमाडौं उपत्यकामा दर्ता भएको सवारी साधनको कागजात (ढड्डा) डिजिटालइजेसनको कामले तीव्रता पाएको छ ।

उपत्यकाका यातायात व्यवस्था कार्यालय मोटरसाईकल, गुर्जुधारा र सानाठूला सवारी, एकान्तकुना कार्यालयबाट सवारीको ढड्डालाई धमाधम डिजिटल फर्म्याटमा उतार्ने काम भइरहेको हो ।

दुवै कार्यालयमा दर्ता भएका सवारीमध्ये हालसम्म १ लाख ३० हजार फाइल डिजिटाइज गरिसकिएको हो । गुर्जुधारबाट हालसम्म ८० हजार मोटरसाइकल/स्कुटर र एकान्तकुनाबाट ५० हजार चारपाँग्रे सवारी साधनको ढड्डा कम्प्युटर प्रणालीमा उतारिएको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत फागुनदेखि सवारी साधनको विवरण, दर्ता, कर तथा नवीकरण लगायत सम्पूर्ण कागजातलाई डिजिटल प्रणालीमा अद्यावधिक गर्ने काम सुरू गरेको थियो ।

यातायात व्यवस्था कार्यालय मोटरसाईकल, गुर्जुधारामा हाल (२०८२ भदौ ११ गते)सम्म १५ लाख ८३ हजार ७१५ वटा दुईपाँग्रे सवारी दर्ता भएका छन् । तीमध्ये ८० हजार सवारीको ढड्डा डिजिटाइज गरिएको कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीले जानकारी दिए ।

‘विगत ७ महिनादेखि ढड्डा डिजिटालाइजेसनको काम चलिरहेको छ । हालसम्म ८० हजार फाइल स्क्यान गरी इन्ट्री गरिसक्यौं,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार हालसम्म कार्यालयमा दर्ता भएका लट नम्बर १०१ देखि ११४ सम्मका मोटरसाइकल तथा स्कुटरको फाइल डिजिटालाइज गरिसकिएको छ । साथै, अन्य लटका सवारी धनीले लगेको फाइल पनि कम्प्युटरमा उतारिएको उनले बताए ।

अहिले दैनिक ३८ जनाले ढड्डा डिजिटाइजको काम गरिरहेको उनले बताए । एकजनाले एकदिनमा ३० देखि ६० वटासम्म फाइल स्कान गरी अपलोड गर्ने उनले बताए ।

‘सुरूमा ५० कर्मचारी खटाइएको थियो । तीमध्ये १२ जना लोकसेवा लगायतमा नाम निकालेर गएका छन् । अहिले ३८ जनाले डाटा इन्ट्री गरिरहेका छन्,’ उनले भने, ‘एकजनाले न्यूनतम ३० देखि अधिकतम ६० वटासम्म फाइल उर्ताछन् । दैनिक १२०० बढी फाइल डिजिटालाइज भइरहेको छ ।’

कामको गति बढाउन कर्मचारीलाई इन्सेन्टिभ दिएर प्रोत्साहित गरिएको उनले बताए । ‘एकजनाले दैनिक कम्तीमा ३० वटा फाइल स्कानगरी अपलोड गर्नपर्छ । त्यसभन्दा बढी गरेमा प्रतिफाइल ३० रुपैयाँ इन्सेन्टिभ फाउँछन्,’ उनले भने ।

२ वर्षभित्र सबै फाइल डिजिटाइज गर्ने भनिए पनि नसकिने देखिएको उनले बताए । सबै फाइल अनलाइन गर्न कम्तीमा ४/५ वर्ष लाग्ने देखिएको उनको भनाइ छ ।

त्यस्तै, यातायात व्यवस्था कार्यालय सानाठुला सवारी, एकान्तकुनामा हालसम्म ५० हजार फाइल डिजिटाइज गरिएको कार्यालयका सूचना अधिकारी अम्बिक घिमिरेले जानकारी दिए ।

 

उनका अनुसार एकान्तकुनामा ४ लाख ७० हजार (३.२० लाख निजी र १.५ लाख सार्वजनिक) सवारी साधन दर्ता छन् । तीमध्ये हालसम्म ५० हजार फाइल अनलाइन प्रणालीमा प्रविष्ट गराइएको उनले बताए ।

‘दैनिक २५ जनाले सवारीको ढड्डा डिजिटाइजको काम गरिरहेको छन् । हालसम्म ५० हजारको सकियो,’ उनले मेरोअटोसँग भने ।

अझै ४ लाख ४० हजार ढड्डा डिजिटाइज गर्न बाँकी रहेको उनको भनाइ छ । यही गतिमा काम हुँदा सबै फाइल डिजिटाइज गर्न कम्तीमा ३ वर्ष लाग्ने उनले बताए ।

बागमती प्रदेशले हाल आफू मातहतका चार कार्यालय गुर्जुधारा, एकान्तकुना, भरतपुर र हेटौंडाबाट अनलाइनमा उतार्ने काम गरिरहेको छ । प्रदेशले सरकारले फाइल स्टोरेजका लागि सिंहदरबारस्थित एकीकृत डेटा व्यवस्थापन केन्द्रमा करिब ६५ टेराबाइट (टीबी) स्पेस लिएको छ । यो डेटाको ब्याकअप डेटा हेटौंडामा रहने छ ।

ढड्डामा रहेको सवारी सम्बन्धी सम्पूर्ण विवरणहरूलाई डिजिटल फर्म्याटमा उतारेपछि सेवाग्राहीहरूले सवारी कर तिर्न यातायात कार्यालय धाउनु पर्दैन । साथै, सवारी नवीकरण, नामसारी लगायत काम पनि अनलाइन प्रणालीबाटै गर्न मिल्छ ।

प्रदेश सरकारले सवारी साधनको ब्लूबुक पनि डिजिटाइज गरी क्यूआर कोड उपलब्ध गराउन थालेको छ ।

एकीन तथ्यांक नभए पनि बागमती प्रदेशमा करिब २३ लाख सवारीसाधन दर्ता भएका छन् ।


Back_to_top