काठमाडौं । चिनियाँ स्टार्टअप अटोमोबाइल ब्राण्ड लीपमोटरले आफ्नो पहिलो प्रिमियम ह्याचब्याक कार लाफा-फाइभ जर्मनीबाट डेब्यू गराउने भएको छ ।
युरोपियन स्टेलान्टीसको प्रवेशसँगै अन्तर्राष्ट्रिय बजार प्रवेश गरेको लीपमोटरले म्युनिखमा सेप्टेम्बर ९ तारिखबाट आयोजना हुन लागेको ‘आइएए मोबिलिटी २०२५’ मा लाफा-फाइभ देखाउन लागेको हो ।
लाफा-फाइभ मोडल यसअघि नेपाल आएको बी-१० कै प्लेटफर्ममा तयार भएको हो । यसलाई कम्पनीले ‘लीप ३.५ मोड्युलर आर्किटेक्चर’मा तयार गरेको हो । यसको उत्पादन कोण नेम ‘बी-०५’ दिइएको छ ।
लीपमोटरको डिजाइनलाई निरन्तरता दिइएको प्रिमियम ह्याचब्याक कारमा कर्भ आकारको एलईडी हेडलाइट, रिट्याक्ट्रेबल डोर ह्याण्डल,स्पोर्टी रुफ स्पोइलर, सिंगल टेललाइट युनिट पाउन सकिन्छ ।
कम्पनीले लाफा-फाइभको छतमा लाइडार दिइएको छ । साना कारहरूमा धेरै कम्पनीले लाइडारको प्रयोग गरेका हुँदैनन् । यसलाई चिर्दै लीपमोटरले लाइडार दिन लागेको हो । कम्पनीले यसमा सेन्सर र क्यामेराको प्रयोग पनि व्यापक गरेको छ ।

कम्पनीले नयाँ ह्याचब्याक कारको टेक्नीकल डिटेल अहिलेसम्म बाहिर ल्याएको छैन । यसमा रहने मोटर, ब्याट्री र अन्य टेक्नोलोजीका बारेमा थाहा पाएपछि मात्रै धेरैले यसको मूल्य लगायतका विषय अनुमान गर्न सक्नेछन् ।
लीपमोटर कम मूल्यको कार, एसयूभी बनाउन परिचित भइसकेको ब्राण्ड हो । स्टेलान्टीस ग्रुपले लगानी गरेसँगै युरोपमा यसको खुबै चर्चा भइरहेको छ । अगस्ट २०२५ मा कम्पनीले अहिलेसम्मकै रेकर्ड बिक्री भेट्टाएको जनाएको छ ।

अगस्ट महिनामा ५७ हजार ६६ युनिट कार विश्व बजारमा बिक्री गरेको लीपमोटरले सन् २०२५ को ८ महिनामा ३ लाख २८ हजार ८५९ युनिट गाडी बिक्री गरिसकेको जनाएको छ । चालु वर्षमा ५ लाख कार बिक्री गर्ने कम्पनीको योजना थियो ।
नेपाली बजारमा साँग्रिला मोटर्सले लीपमोटरका उत्पादन बिक्री गर्दै आएको छ । अहिलेसम्म कम्पनीले तीन मोडल बजारमा ल्याइसकेको छ । कम्पनीको इन्ट्री मोडल टी-०३ हो भने टप मोडल सी-१० एसयूभी हो । बी-१० एसयूभी पनि कम्पनीले अहिले बुकिङ लिइरहेको छ । छिट्टै बी-१० को डेलिभरी सुरू हुने कम्पनीको भनाइ छ ।

