काठमाडौं । हुन्डाई मोटर्सले उत्पादन गरेको ४ मिटर माथिको एसयूभी क्रेटा धेरै उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । यो कार भारतीय बजारमा सन् २०१५ मा सार्वजनिक भएको थियो । हुन्डाईले क्रेटाको चौथो जेनेरेसनसमेत बजारमा ल्याइसकेको छ ।
भारतीय बजारमा ५ लाख यूनिटभन्दा बढि बिक्री भएको यो मोडल नेपाली सडकमा पनि बाक्लो उपस्थिति जनाउने मोडलमा पर्छ ।
अहिले पनि क्रेटा किन्ने उपभोक्ता बढी नै रहेको छन् । भारतमा मात्र नभई नेपालमा समेत क्रेटा निक्कै रुचाइएको एसयूभी कार हो । नेपाली बजारमा हुन्डाईका गाडी लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आइरहेको छ । यो कार नेपाली बजारमा २०७२ भदौमा भित्रिएको थियो । त्यसयता कम्पनीले करिब ३७०० यूनिट क्रेटा बिक्री गरेको जनाएको छ ।
क्रेटा किन धेरै सवारी पारखीको रोजाइमा पर्न सफल भयो भन्ने विषयमा यहाँ उल्लेख गरिएको छ ।
बोल्ड लुक्स
हुन्डाई क्रेटा ५ सिट क्षमताको एसयूभी हो । क्रेटाको डिजाइनमा विशेष ध्यान दिइएकाले यो देख्दा निक्कै आकर्षक लाग्छ । विगतको क्रेटाभन्दा फेसलिफ्ट मोडल अझै बढी आकर्षक देखिन्छ । यसको कारण हो डिजाइन टीमले दिएको विशेष ध्यान ।
हुन्डाईले डिजाइनका साथै कारको कलरमा पनि विशेष जोड दिएको देखिन्छ जसका कारण धेरै मानिसका आँखा क्रेटा तिर तान्छ । नयाँ मोडलको क्रेटा अझ बडी फ्रेस देखिन्छ । डिजाइनका हिसाबले मात्र होइन मूल्यका हिसाबमा पनि हुन्डाई क्रेटा १५ लाख भारु भन्दाकम मूल्यमा पाइन्छ । नेपाली बजारमा यसको मूल्य ४२ लाख ६५ हजारदेखि ५९ लाख ५६ हजारसम्म रहेको छ ।
धेरै विशेषता सहितको आकर्षक इन्टेरियर

फेसलिफ्ट मोडल आएपछि क्रेटाको इन्टेरियर थप प्रिमियम देखिएको छ । डियूल टोन कलर स्किममा बनेको क्याविनले धेरैलाई आकर्षित गरेको छ । निक्कै आरामदायी बसाई महसुस हुने क्रेटामा सेगमेन्टमा सबैभन्दा धेरै विशेषता भएको कारमा पर्छ । क्रेटामा इलेक्ट्रोनिक सनरुफ, इलेक्ट्रीकल्ली एडजस्टेवल ड्राइभर सिट, वायरलेस फोन चार्ज, क्रुज कन्ट्रोल, स्मार्ट की ब्यान्डलगायत विशेषताहरु छन् । सानो एसयूभी क्रेटामा ठूलो सरह एन्ड्रोइड र एप्पल कारप्ले सपोर्ट गर्ने लार्ज–साइज टच स्क्रिन इफोटेनमेन्ट सिस्टमसमेत रहेको छ ।
मल्टिपल इन्जिन अप्सन
क्रेटा तीन इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यसको अर्थ हो यो कारले धेरैको आवश्यकता पूरा गर्न सक्छ । पेट्रोलमा १.६ लिटर चार सिलिन्डर इन्जिन छ जसले १२२ बीएचपी र १५१ एनएम टर्क दिन्छ । यो भर्सनमा ६ स्पीड म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ । क्रेटाको एआरएआइ सर्टिफाइड फ्यूल इफिसियन्सी १५.२९ किलोमिटर प्रतिलिटर रहेको छ ।

डिजेल इन्जिनमा १.४ लिटर टर्बोचार्ज्ड इन्जिन रहेको छ, जसले ८९ बीएचपी र २२० एनएम टर्क दिन्छ । ६ स्पीड म्यानुअल ट्रान्समिसन रहेको यो मोडलले २१.३८ मिलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
त्यस्तै १.६ लिटर डिजेल इन्जिनको क्रेटा ६ स्पीड म्यानुअल तथा अटोमेटिक दुवै अप्सनमा उपलब्ध रहेको छ । टर्बोचार्ज्ड डिजेल इन्जिनले १२६ बीएचपी पावर र २६० एनएम टर्क दिन्छ । यो इन्जिनको म्यानुअल ट्रान्समिसनले १९.६७ किलोमिटर प्रतिलिटर र अटोमेटिक गियरबक्सले १७.०१ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
विशेष सुरक्षा व्यवस्था

हुन्डाई क्रेटा धेरैको रोजाइमा पर्नुको कारण यसमा रहेको सुरक्षा विशेषता पनि हुन् । रेयर पार्किङ सेन्सर, एन्टि–पिन्च इलेक्ट्रीक वीन्डो, डियूल फ्रन्ट एयरब्याग र एबीएस जस्ता विशेषता सबै भेरियन्टमा छन् । हाइयर रेन्जमा ६ वटा एयरब्याग, हिल–स्टार्ट असिस्ट, रेयर पार्किङ क्यामेरालगायत विशेषता यसमा रहेका छन् ।
विश्वासको आधार
हुन्डाई क्रेटा लाखौं उपभोक्ताद्वारा परिक्षण गरिएको कार हो । सार्वजनिक भएयता हालसम्म क्रेटामा कुनै पनि समस्या आएको सुनिएको छैन । कम्पनीले क्रेटामा ३ वर्षसम्म वा ६० हजार किलोमिटर वारेन्टी दिएको छ । कम्पनीले आवश्यक पार्टस र सर्भिस समेत सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।


