क्रेटा ईभीको रेन्ज बढेर ५१० किलोमिटर, थपियो नयाँ भेरियन्ट

काठमाडौं । हुन्डाई क्रेटा ईभीको रेन्ज ५१० किलोमिटर दाबी गरिएको छ । भारतमा क्रेटा ईभीमा नयाँ भेरियन्ट थप गर्दै कम्पनीले ७.८ प्रतिशतले रेन्ज वृद्धि भएको दाबी गरेको हो ।

हुन्डाई मोटर्स इन्डियाका अनुसार क्रेटा इलेक्ट्रीमा भएको ४२ किलोवाट आवर क्षमताको ब्याट्रीले थप ३० किलोमिटर र ५१.४ किलोवाट अवारको ब्याट्रीले थप ३७ किलोमिटर रेन्ज दिनेछ ।

यसअघि ४२ किलोवाट आवरको ब्याट्रीप्याकले ३९० किलोमिटर रेन्ज दिने दाबी थियो । अब त्यो बढेर ४२० किलोमिटर पुगेको हो । साथै, ५१.४ किलोवाट आवर ब्याट्रीप्याकले यसअघि ४७३ किलोमिटर रेन्ज दिन्छ भनिएकोमा अब बढेर ५१० किलोमिटर पुगेको हो ।

हुन्डाईले क्रेटा ईभीमा एक्जुकेटीभ टेक, एक्सीलेन्स र एक्जुकेटीभ (ओ) गरी तीन नयाँ भेरियन्ट थपेको छ । क्रेटा ईभीको एक्जुकेटीभ टेक र एक्सीलेन्समा ४२ किलोवाट आवरको ब्याट्री छ । एक्जुकेटीभ (ओ) मा भने ५१.४ किलोवाट आवरको एनसीएम ब्याट्री पाउन सकिन्छ ।

कम्पनीले नयाँ भेरियन्टमा वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टीभीटी थप गरेको हो । यसअघि यी फिचर वायरको प्रयोग गरेर चलाउनु पर्थ्यो ।

त्यस्तै, एक्सिलेन्स भेरियन्टमा ड्यासक्याम र रियर वायरलेस चार्जर थप भएको छ । प्रिमियम भेरियन्टमा भने भेगन लेदरेट प्रयोग भएको छ । साथै, भेन्टिलेटेड फ्रन्ट सिट, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट पाउन सकिन्छ । क्रेटा ईभीमा म्याट ब्ल्याक र स्याडो ग्रे कलर अप्सन समेत थप भएको छ ।

नेपाली बजारमा पनि राम्रै संख्यामा आयात भएको क्रेटा ईभीको नयाँ भेरियन्ट चाँडै आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top