काठमाडौं । काठमाडौंदेखि हेटौंडासम्म जोड्ने सुरुङमार्ग निर्माण गर्छु भन्ने नेपाल पूर्वाधार विकास कम्पनीको संचालक समिति विघटन भएको छ । चैत ९ गते सम्पन्न कम्पनीको बिशेष साधारण सभाले सञ्चाक समिति विघटन गरि ३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
विशेष साधारण सभाले गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट, सुभाषचन्द्र ठकुरी र नविल कँडेल सहभागी रहेको तदर्थ समिति गठन गरेको हो । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माणका लागि पावर चाइनाको लगानी स्वीकृति गरेर बनाउने जनाइएको छ ।
पावर चाइना कम्पनीसँग जोइन्ट भेन्चर कम्पनी स्थापना गरेर सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाउने निर्णय समेत विशेष साधारण सभाले गरेको छ । त्यसका लागि आगामी असार १४ गते अर्को साधारण सभा बोलाउने निर्णय समेत भएको छ ।
नेपाल पूर्वाधार विकास कम्पनीले पावर चाइनासँग ज्वाइन्ट भेन्चर कम्पनी स्थापनाका लागि सरकारसँग सहमति माग्ने, आन्तरिक र संस्थागत लगानी खोज्ने, जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । लामो समय उक्त सुरुङ मार्ग बनाउने भन्दै आयोजना ओगटेको नेपाल पूर्वाधार विकास कम्पनीले फेरी पार्टनर खोज्ने कुरा गरि रहँदा सुरुङमार्ग बन्ने नबन्ने अन्यौलता अझ बढाएको छ ।

