कर्फ्युमा पनि यी सवारी साधन चलाउन पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाठौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासनले बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा कर्फ्यु लगाइएको हो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरले राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

त्यस्तै, जिल्ला प्रशासन भक्तपुरले पनि बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि चारकिल्ला तोकेर अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको छ ।

कर्फ्यु लागेसँगै सडकमा डिहँडुल गर्न तथा सवारी चलाउन रोक लगाइएको छ । तर, कर्फ्युको समयमा पनि अत्यावश्यक सेवाका केही सवारी साधन भने चलाउन पाइने छ ।

जिल्ला प्रशासन काठमाडौंका अनुसार कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीहरूको सवारीसाधन, संचारकर्मीहरूको सवारीसाधन, मानव अधिकार तथा कुटनीतिक निययोगका सवारीसाधनहरू चलाउन पाइने छ ।

साथै, हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।


Back_to_top