काठमाडौं । एसएआइसी ग्रुपको स्वामित्वमा रहेको एमजी मोटर्सले नयाँ ह्याचव्याक कार एमजी फोरको उत्पादन तिब्र बनाएको छ । कम्पनीको नयाँ ह्याचव्याक कारलाई चिनियाँ उपभोक्ताले दिल खोलेर बुकिङ गरेका छन् ।
चीनमा बुकिङ खुल्ला भएको १५ दिनमा २६ हजार युनिट बुकिङ पुरा भएको जानकारी दिदै एमजी मोटर्सले हरेक बुकिङकर्ताले ३९ दिन भित्र डेलिभरी पाउने जनाएको छ । कम्पनीका अनुसार ३९ दिन भित्र डेलिभरी नपाउने उपभोक्ताल दैनिक ५० युआन क्षतिपूर्ति पाउने छन् ।
मासिक १५ हजार युनिट उत्पादन गर्ने योजनासहित बजारमा ल्याएको एमजी फोरको नयाँ मोडल उच्च मागसँगै पूर्ण क्षमतामा संचालन थालिएको कम्पनीले जनाएको छ । सेमी सोलिड स्टेट ब्याट्री प्रयोग भएको पहिलो मास प्रोडक्टको रुपमा हेरिएको एमजी फोर आकर्षक मूल्यमा पाइने भएको कारण पनि चिनियाँ उपभोक्ताको ध्यान खिच्न सफल भएको हो ।
अगस्टको अन्तिम साता आयोजना भएको छेन्दु अटो शो २०२५ मार्फत सार्वजनिक भएको एमजी फोरको अनुदानसहितको मूल्य ६५ हजार ८०० युआन तोकिएको छ । यसलाई विभिन्न ५ भेरियन्टमा चीनमा बिक्रीको लागि उपलब्ध गराइएको छ ।
एमजीले नयाँ ह्याचव्याक कारमा दुई ब्याट्री अप्सन दिएको छ । सानो ४२.८ किलोवाट आवरको एलएफपी ब्याट्र िर ठूलोमा ५३.९ किलोवाट आवरको ब्याट्री दिएको छ । जसको टप भेरियन्टले ४०० किलोमिटर माथि रेन्ज दिने अनुमान गर्न सकिन्छ । सीएलटीसीका अनुसार सानो ब्याट्रीले ४३७ र ठूलो ब्याट्रीले ५३० किलोमिटर रेन्ज दिन्छ । ठूलो ब्याट्री सेमी सोलिड स्टेट रहेको कम्पनीको दावी छ ।
एमजी फोरमा १२० किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर पाउन सकिन्छ । साथै, गाडीको साइज पनि एसयूभी सो सरहनै छ । यसको लम्बाइ ४३९५ एमएम, चौडाइ १८४२ एमएम र उचाइ १५५१ एमएम छ । यसमा २७५० एमएम लामो ह्वील वेस पाउन सकिन्छ ।
अगाडिबाट हेर्दा धेरै हदसम्म एमजी एस फाइभ जस्तै देखिने नयाँ एमजी फोरमा १६ इन्चको ह्वील दिइएको छ । क्याविनमा डिजिटल १०.२५ देखि १५.६ इन्चसम्मको भेरियन्ट अनुसार स्कृन दिइएको छ । क्वालकमको स्न्यापड्रागन ८१५५ चीप उपलब्ध कारमा पार्किङ एसिस्ट जस्ता उच्चकोटीको प्रविधि पाउन सकिन्छ ।
चाँडै नेपाल आउने
एमजीका कारहरु युरोप र नेपालमा सँगै सार्वजनिक हुँदै आएका छन् । कतिपय अवस्थामा युरोपको भन्दा पनि पहिला नेपाल आएको विगत छ ।
पारामाउन्ट मोटर्स आधिकारीक बिक्रेता रहेको एमजी ब्राण्डको नयाँ ह्याचव्याक कार सन् २०२५ को डिसेम्बरसम्म नेपाल आउने अनुमान गर्न सकिन्छ ।

