निगमले ग्वान्झाउ साताको ३ उडान गर्ने, यस्तो छ भाडादर

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज ९ गतेदेखि चीनको ग्वान्झाउ सिधा उडान भर्ने भएको छ।

निगमले पहिलोपटक काठमाडौं- ग्वान्झाउ–काठमाडौं रुटमा सिधा उडान सेवा सुरु गर्न लागेको हो ।

निगमका कार्यकारी अनुसार काठमाडौं– ग्वान्झाउ उडान प्रयोजनका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको छ । निगमले ग्वान्झाउ उडानका लागि अनुमति पाइसकेको छ ।

निगमले यस रुटमा सातामा ३ दिन नियमित उडान गर्ने भएको हो । निगमले पहिलो उडान असोज ९ गते र दोस्रो असोज १२ गते गर्ने तय भएको छ । त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपछि प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वान्झाउ सिधा उडान हुनेछ।

निगमले काठमाडौंबाट ग्वान्झाउसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ तोकेको छ । त्यस्तै, दुईतर्फी भाडादर ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ।

काठमाडौं-ग्वान्झाउ गन्तव्यमा चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ। नेपालबाट भने हिमालय एयरलाइन्सले नियमित उडान गर्दै आएकोछ ।

नेपाली एयरलाइन्सको ग्वान्झाउ उडानसँगै अब ९ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैंगलुरू, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।


Back_to_top