काठमाडौं । गण्डकी प्रदेशका मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सेवा प्रवाह सुरू भएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा यातायात कार्यालयहरू आगजनी तथा तोडफोडका कारण बन्द रहेको सेवा पुनः सुचारु भएको हो ।
प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार यातायात व्यवस्था कार्यालय बागलुङ, डुम्रे र नवलपुरबाट लाइसेन्स बाहेका नयाँ सवारी दर्ता, नामसारी, प्रतिलिपि, नवीकरण, प्रदूषण चेकजाँच, रुट इजाजत लगाय सेवा सुचारु गरिएको छ ।
त्यस्तै, ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण सम्बन्धी सेवा पूर्वाधार विकास कार्यालय, स्याङ्जा, गोरखा र लमजुङबाट समेत सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।
यातायात व्यवस्था विभागको कार्यालय तोडफोड तथा आजगनी हुँदा यातायात क्षेत्रसँ सम्बन्धीत ईभीआरएस तथा ईडीएलभीआरए प्रणालीमा क्षति पुगेकाले लाइसेन्स सम्बन्धी सुम्पूर्ण काम भने अनिश्चितकालका लागि बन्द रहेको छ । अहिले प्रणाली मर्मत सुरू भइरहेकाले चाँडै लाइसेन्स सम्बन्धी सेवा पनि सुचारु गरिने मन्त्रालयले जनाएको छ ।

