काठमाडौं । ५ वर्षमा ६ किलोमिटर सडक पनि निर्माण सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीको जमानत जफत गरिएको छ ।
पर्वतको महाशिला गाउँपालिकाको लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडक निर्माणको जिम्मा पाएको ठेकेदार पीआर ओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको जमानत जफत गरिएको हो ।
पूर्वाधार विकास कार्यालय पर्वतले पीआररओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत जफत गरी असुल गरेको हो ।
पटक-पटक म्याद थप गर्दा पनि ५ वर्षसम्म सडक आयोजना सम्पन्न नगरेपछि जमानत जफत गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
१८ महिनाभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ जेठ १८ गते सम्झौता भएको सडक वि.सं. २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भएपनि निर्माण व्यावसायीले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक पटक म्याद थप गरी वि.सं. २०८१ चैत २९ गतेसम्मको समय दिँदा पनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको अर्यालले बताए ।
कुल ११ करोड २२ लाख ६६ हजार रुपैयाँको लागतमा निर्माण हुने झण्डै ६ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति समेत ३५ प्रतिशत भएको थियो ।
सडक निर्माण सुरू गरेर निर्माण व्यवसायी नै सम्पर्कबिहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ ।


