१ महिनादेखि बन्द लाइसेन्सको आवेदन र ट्रायल कहिलदेखि खुल्छ ?

काठमाडौं । १ महिनादेखि बन्द सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुल्न अझै केही समय लाग्ने भएको छ ।

भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भरमा क्षति पुगेपछि लाइसेन्स सम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । क्षति पुगेको सर्भर मर्मत र आवश्यक उपकरण जुटाइ सेवा संचालनमा ल्याउन अझै कम्तीमा १ हप्ता लाग्ने भएको हो ।

विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले सकेसम्म तिहार अघि नै लाइसेन्सको आवेदन खुलाउने तयारीका साथ काम भइरहेको बताए ।

उनले अहिले सर्भर मर्मत र आवश्यक उपकरणहरू जुटाउने काम भइरहेको बताए । साथै, सर्भर राख्ने कोठा निर्माणको काम पनि सँगसँगै भइरहेको उनले बताए ।

‘आगजनी र तोडफोडबाट विभागको कार्यालयसँगै सर्भर, प्रिन्टर, कम्प्युटर लगायत उपकरणमा क्षति पुगेको थियो । अहिले सर्भरको काम लगभग सकिएको छ । आवश्यक उपकरण जुटाउने काम भइरहेको छ,’ उनले मेरोअटोसँग भने, ‘सकेसम्म तिहार अघि नै लाइसेन्सको आवेदन खुलाउँछौं । विभागका सबै कर्मचारी बिहानैदेखि बेलुकासम्म खटिएका छौं । कथम कदाचित खुलाउन सकिएन भने तिहार लगत्तै खुल्छ ।’

उनका अनुसार अहिले आवश्यक कम्प्युटर, प्रिन्टर, हार्डडिस्क, फर्निचर, इलेक्ट्रोनिक्स उपकरण लगायत सामान जुटाउने काम भइरहेको छ । ‘अहिले कार्यालयका लागि आवश्यक उकरण तथा सामान जुटाउने काम भइरहेको छ । केही सामान सुरक्षण मुद्रण केन्द्र लगायत विभिन्न निकायसँग मागेका छौं । केही खरिद गरेका छौं,’ उनले भने ।

विभागको अनलाइन प्रणाली संचालनमा आएपछि प्रदेश मातहतका कार्यालयहरूले नयाँ लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा संचालन गर्ने उनको भनाइ छ ।

आगजनीबाट विभागको सर्भरमा क्षति पुगे पनि लाइसेन्स सम्बन्धी विवरण (डाटा) सुरक्षित रहेको बताए । उनले लाइसेन्स छाप्प राखिएको स्मार्ट कार्ड पनि एक लाख बढी स्मार्ट कार्ड पनि सुरक्षित भेटिएको बताए ।

अहिले कार्यालय भवनमा मर्मत समेत भइरहेको उनले बताए । दुईवटा भवनमध्ये एउटा कामै नलाग्ने अवस्थामा पुगेको उनले बताए ।आगजनीबाट छापेर राखिएका २० हजार बढी लाइसेन्स, १ लाख बढी स्मार्ट कार्ड, ६ लाख बढी इम्बोस्ड नम्बर प्लेट पनि जलेर खरानी भएका थिए ।

देशभरबाट औसतमा दैनिक ६ देखि ७ हजारसम्म नयाँ लाइसेन्स र नवीकरणका लागि आवेदन आउने गरेको विभागको तथ्यांक छ । ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छ ।

अहिले देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सेवा प्रदान गरिँदै आइएको छ ।

‘सर्भर नबनेसम्म केही गर्न सकिँदैन’

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी बिमल प्रसाद भट्टराईले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर नबनुन्जेल लाइसेन्स सम्बन्धी कुनै पनि सेवा संचालन गर्न नसकिने बताए ।

उनले लाइसेन्स सम्बन्धी सबै काम केन्द्रीय सिस्टममै आधारित हुने भएकाले प्रदेश सरकारले छुट्टै केही गर्न नसक्ने बताए । ‘लाइसेन्स सम्बन्धी सम्पूर्ण काम विभागको केन्द्रीय सिस्टमबाटै हुन्छ । उक्त सर्भर संचालनमा नआएसम्म लाइसेन्सको नयाँ आवेदन, नवीकरण, लिखित र ट्रयाल परीक्षा संचालन लगायत कुनै काम गर्न सकिँदैन,’ उनले मेरोअटोसँग भने । केन्द्रीय सर्भर संचालनमा आउने बित्तिकै लाइसेन्स सम्बन्धी सेवाहरू सुरू गरिने उनको भनाइ छ ।


Back_to_top