ट्राफिक लाइटमा थपिँदै चौथो रङ, परीक्षण भइरहेको रङ कुन होला ?

काठमाडौं । अनुसन्धानकर्ताहरूले ट्राफिक सिग्नल प्रणालीमा नयाँ रङ थप्ने प्रस्ताव गरेका छन् । अहिलेसम्म ट्राफिक बत्तीहरू रातो, पहेँलो र हरियो रंगका छन् । तर, अब चौथो बत्तीको रूपमा सेतो कलर थप्न लागिएको हो ।

अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ट्राफिक सिग्नल प्रणालीका लागि नयाँ रङ प्रस्ताव गरेका हुन् । उक्त नयाँ रङ विशेष गरी अटोनोमस ड्राइभिङ सिस्टम जडान भएका साधनको लागि हुनेछ ।

अहिलेसम्म, ट्राफिक बत्तीहरूमा रातो (रोक्नको लागि), पहेँलो (हेरेर गाडी चलाउनको लागि) र हरियो (दौडनको लागि) प्रयोग गरिन्थ्यो । तर, अब थप्न लागिएको ह्वाइट कलरले ट्राफिक प्रवाह सुधार गर्न मद्दत गर्ने जनाइएको छ ।

अब थपिने सेतो कलरको ट्राफिक सिग्नलसँग अटोनोमस कारहरूले कम्युनिकेट गर्नेछन् । साथै, अटोनोमस कारले इन्टरसेक्सनमा रहेका अन्य अटोनोमस कारलाई सिग्नल पठाउने छन् । जसमा मानिसको इनपुट बिनै यी कारहरूले इन्टरसेक्सनमा ट्राफिक फ्लो मिलाउनेछन् ।

सेतो रङको बत्तीको अवधारणा के हो ?

अनुसन्धानकर्ताका अनुसार सेतो रङको लाइटले स्वचालित ड्राइभिङ सिस्टम भएका कारहरूमा दिइएको प्रविधि प्रयोग गरेर ट्राफिक जाम कम गर्न सहयोग गर्नेछ । उक्त प्रस्ताव पहिलो पटक प्रोफेसर अली हज्बाबाईले सन् २०२४ मा प्रस्तुत गरेका थिए । उनी सिभिल, कन्ट्रक्सन तथा इन्भारोमेन्ट इन्जिनियरिङका सहप्राध्यापक हुन् ।

उनका अनुसार ‘अनुसन्धानमा पहिले, ह्वाइट फेजको अवधारणा थियो । जसले स्वचालित कारहरू बीचको समन्वय बढाउँछ र चौबाटोमा छिटो ट्राफिक क्लियर गर्न मद्दत गर्दछ । अब हामीले यसमा पैदल यात्रीहरूलाई पनि समावेश गरेका छौं । परिणामहरू धेरै सकारात्मक आइरहेका छन् ।’

नयाँ प्रणालीका फाइदा के ?

नयाँ खोजले पत्ता लगायो कि पैदल यात्रीहरूको बाबजुद, ह्वाइट लाइट प्रणालीले ट्राफिक आवत जावतमा समेत सुधार हुनेछ । यदि भविष्यमा धेरैजसो कारहरू अटोनोमस भए भने चारदोबाटोहरूमा पर्खने समय २५ प्रतिशतभन्दा कम गर्न सकिनेछ । भोलिका दिनमा सबै कारहरू स्वचालित छन् भने, यो प्रणालीले यात्रा समय र ट्राफिक जाम कम गर्ने दाबी गरिएको छ ।

यो प्रणाली कहिले लागू हुन्छ ?

सेतो लाइटको परीक्षण अहिले कम्प्युटर सिमुलेशनमा भइरहेको छ । यसको सडकमै परीक्षण पनि सुरू हुन लागेको हो ।

प्राध्यापक हज्बाबाईले भने, ‘हामी एउटा फिजिकल टेस्टबोर्ड तयार गर्दैछौं । जहाँ यसलाई सानो स्तरमा प्रयोग गरिनेछ । यसले हामीलाई वास्तविक ट्राफिकमा यसलाई लागू गर्न कस्ता चुनौतीहरू हुन सक्छन् भनेर बुझ्न थप मद्दत गर्नेछ ।’


Back_to_top