कमर्शियल गाडी किन्न २ महिनामा लिए ७५ करोड ऋण, कारमा भने उल्टो घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन-भदौ)मा व्यावसायिक (कमर्शियल) प्रयोजनका सवारी साधन खरिद गर्न लिने कर्जा ०.९ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई महिनामा कमर्शियल सवारी किन्न ७५ करोड १३ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रदान भएको हो ।

गत असार मसान्तसम्म कमर्शियल सवारीमा बैंक तथा वित्तीय संस्थाहरूले ८६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा भदौ मसान्तसम्म बढेर ८६ अर्ब ८५ करोड रुपैयाँ पुगेको हो ।

यस अवधिमा व्यक्तिगत सवारी खरिदका लागि लिइने कर्जा भने उल्टो घटेको छ । दुई महिनामा कार किन्न लिइने ऋण ०.४ प्रतिशत अर्थात् १५ करोड ७७ लाख रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आवको दुई महिनामा हायर पर्चेज कर्जाको वृद्धिदर समग्रमा ०.५ प्रतिशत रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५९ करोड ३६ लाख रुपैयाँ कर्जा प्रदान गरेका छन् । चालु आवमा अटो बजार सुस्त हुँदा हायर पर्चेज कर्जा लगानी पनि खुम्चिएको हो ।

चालु आवको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् । जसमा कमर्शियल सवारीमा ८६ अर्ब ८५ करोड र व्यक्तिगत सवारीमा ४२ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


Back_to_top