जहाँ पेट्रोल/डिजेल कारभन्दा बढी इलेक्ट्रीक कार बिक्छ…

पहिलो पटक डिजेल तथा पेट्रोलबाट चल्ने कार भन्दा इलेक्ट्रीक कार बिक्री भएको छ । नर्वेमा २०१९ को मार्चमा बिक्री भएको कुल कार मध्ये ५८.४ प्रतिशत हिस्सा इलेक्ट्रीक (शून्य इमिसन भेइकल) ले ओगटेको छ ।

संसारभर नर्वे इलेक्ट्रीक सवारी प्रयोग गर्ने अग्रणी देशको रुपमा रहेको छ । नर्वेले २०२५ देखि देशमा डिजेल तथा पेट्रोलबाट चल्ने प्यासेन्जर कार तथा भ्यान दर्ता नगर्ने घोषणासमेत गरि सकेको छ ।

मार्च महिनामा १८ हजार ३७५ नयाँ कार दर्ता भएकोमा १० हजार ७३२ वटा इलेक्ट्रीक रहेका छन् । यो २०१८ को मार्चमा दर्ता भएको इलेक्ट्रीक कारको तुलनामा दोब्बर हो ।

मार्चमा सबैभन्दा धेरै टेस्ला मोडल ३ दर्ता भएको छ । यो अवधिमा ५ हजार ३१५ वटा मोडल ३ सेडान कार दर्ता भएको हो । त्यस्तै नर्वेमा हाइब्रिड कारको दर्ता ३ हजार ४६९ वटा भएको छ, जुन २०१८ को मार्चको तुलनामा १० प्रतिशतले कम हो ।

ग्यास तथा डिजेलबाट चल्ने सवारीको बिक्री हालसम्मकै काम भएको छ । नर्वेजियन इलेक्ट्रीक भेइकल एसोसिएसनले नागरिकलाई प्रदूषण नगर्ने सवारी किन्न प्रेरित गरि रहेको छ ।

नर्वेमा प्रदूषण नगर्ने सवारीमा २५ प्रतिशत भ्याटसमेत तिर्नु नपर्ने व्यवस्था गरिएको छ । नर्वे सरकारले २०१९ मा कार बिक्री ५० प्रतिशतभन्दा बढीले बढ्ने अनुमान गरेको छ ।


Back_to_top