यी हुन् विश्वका १० ठूला अटोमोबाइल ग्रुप, २०२५ मा कसले मार्ला बाजी ?

काठमाडौं । सन् २०२४ मा विश्वभर झण्डै साढे ७ करोड कार बिक्री भएको थियो । उक्त बिक्री संख्या सन् २०२३ को भन्दा २.५ प्रतिशतले बढी हो ।

विश्वमै धेरै कार उत्पादन र बिक्री हुने देश चीन हो । चीनमा मात्रै सन् २०२४ मा ३ करोड १० लाख युनिट कार बिक्री भएको थियो । दोस्रो ठूलो बजार अमेरिकामा झण्डै १ करोड ६० लाख युनिट कार बिकेको थियो ।

यी दुई छाडेर भारत, जापान र जर्मनी पनि धेरै कार बिक्री हुने देशको सूचीको अग्रस्थानमै आउँछन् । पूरै युरोपमा सन् २०२४ मा १ करोड ३० लाख कार बिकेको थियो ।

एउटै ग्रुपले कार उत्पादन र बिक्रीको मामलामा जापानी ब्राण्ड टोयोटा सबैभन्दा अगाडि देखिएको छ । टोयोटाले सन् २०२४ मा विश्वभर १ करोड ८ लाख २१ हजारभन्दा बढी कार बिक्री गरेको थियो । टोयोटा ग्रुप अन्तर्गत टोयोटा, लेक्सस र दायहात्सु ब्राण्डका कारहरू छन् ।

कार उत्पादनका हिसाबले दोस्रो ठूलो ग्रुप फक्सवागेन हो । जर्मन कार निर्माताले सन् २०२४ मा ९० लाख २७ हजार कार बिक्री गरेको थियो । यो ग्रुप अन्तर्गत फक्सवागेन, अउडी, स्कोडा, कुप्रा, बेन्ट्ले, बुगाटी, लेम्बर्गीनी पोर्श्च र सियट जस्ता ब्राण्डहरू छन् ।

तेस्रो धेरै कार बिक्री गर्नेमा कोरियन कम्पनी हुन्डाई परेको थियो । हुन्डाई ग्रुपले सन् २०२४ मा ७२ लाख ३१ हजारभन्दा धेरै कार बिक्री गरेको थियो । हुन्डाई मोटर ग्रुप अन्तर्गत हुन्डाई, किया र जेनेसिस ब्राण्ड छन् ।

चौथोमा धेरै कार बिक्री गर्ने कम्पनी अमेरिकी जनरल मोटर्स बनेको थियो । जनरल मोटर्सले गत वर्ष ६० लाख कार बिक्री गरेको थियो । उक्त ग्रुपमा सेभ्रोले, ओपल, काडिलाक, जीएमसी, होल्डर, भक्सहल जस्ता कार ब्राण्डको स्वामित्व छ ।

पाँचौं धेरै कार अर्को युरोपियन अटोमोबाइल ग्रुप स्टेलान्टिसले बिक्री गरेको छ । स्टेलान्टिस ग्रुपले सन् २०२४ मा ५४ लाख १५ हजार युनिट कार बिक्री गरेको थियो । यस ग्रुप भित्र फियाट, सिट्रोन, प्यूजो, अल्फारोमियो, क्राइस्लर, जीप लगायतका ब्राण्डहरू छन् ।

छैठौं नम्बरमा अमेरिकी कार कम्पनी फोर्ड परेको छ । फोर्डले सन् २०२४ मा ४४ लाख ७० हजार कार बिक्री गरेको थियो ।

सातौँ धेरै कार चिनियाँ कम्पनी बीवाइडीले बिक्री गरेको थियो । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादकले सन् २०२४ मा ४२ लाख ७२ हजार कार बिक्री गरेको थियो । बीवाइडी ग्रुप अन्तर्गत बीवाइडी, डेन्जा, फेङचेङ वाओ र याङवाङ ब्राण्ड छन् ।

आठौं धेरै कार उत्पादन र बिक्री गर्ने कम्पनीमा होण्डा परेको छ । होन्डा टु ह्वीलरदेखि जहाजसम्म बनाउने कम्पनी हो । होण्डाले सन् २०२४ मा ३८ लाख युनिट कार बिक्री गरेको थियो ।

नवौं स्थानमा अर्को जापनी कार ब्राण्ड निसान परेको छ । निसानले सन् २०२४ मा ३३ लाख ४८ हजार कार बिक्री गरेको थियो ।

दशौं स्थानमा चिनियाँ कार ब्राण्ड जिली परेको थियो । जिलीले न्यू इनर्जी र परम्परागत ग्यासोलिन सबै किसिमका गाडी बिक्री गर्दै आएको छ । सन् २०२४ मा कम्पनीले ३३ लाख ३६ हजार कार बिक्री गरको थियो ।

सन् २०२५ को १० महिना बितिसकेको छ । यो वर्ष पनि त्यति धेरै ठूलो उथलपुथल बजारमा देखिने अवस्था छैन । सम्भवतः ठूला १० अटोमोबाइल ग्रुपले आफ्नो स्थान सुरक्षित राख्ने सम्भावना देखिन्छ ।


Back_to_top