काठमाडौं । पेट्रोलबाट चल्ने मोटरसाइकलको तुलनामा इलेक्ट्रीक मोटरसाइकल चलाउने अनुभव धेरै फरक हुन्छ । इलेक्ट्रीक मोटरसाइकल चलाउन निकै सहज हुने अनुभव धेरैले गरेका छन् ।
अहिले नेपाली बजारमा केही इलेक्ट्रीक मोटरसाइकल ब्राण्डहरूले आफ्नो उत्पादन बिक्रीमा राखेका छन् । उपभोक्ताहरू भने त्यसतर्फ आकर्षित भएको पाइँदैन । संचालन खर्च कम लाग्ने भएको कारण सहरी क्षेत्रमा इलेक्ट्रीक मोटरसाइकल निकै उपयोगी हुन्छ ।
तपाईं पनि इलेक्ट्रीक मोटरसाइकल किन्ने बारे सोच्दै हुनुहुन्छ ?, त्यसको फाइदा र वेफाइदाका बारेमा धारणा बनाउन चाहनु हुन्छ भने यो समाचार तपाईकै लागि हो ।
इलेक्ट्रीक मोटरसाइकलका पाँच फाइदाहरूलाई निम्नअनुसार चर्चा गर्न सकिन्छ ।
पेट्रोलको खर्च बचत
पेट्रोलको मूल्य सधै अस्थिर रहन्छ । मूल्य बढ्दै जाँदा संचालन लागत बढ्छ । तर, इलेक्ट्रीक मोटरसाइकलले स्थिर बिजुलीको चार्ज तिर्दा पुग्छ । जसले तपाईंको मासिक खर्चलाई सधै एउटै बनाउन सहयोग गर्छ । राति घरमै मोटरसाइकल चार्ज हुने भएको कारण पेट्रोल पम्प धाउनु पर्ने समस्या पनि हुँदैन ।

स्मुथ राइडिङ अनुभव
इलेक्ट्रीक मोटरसाइकलमा इन्जिनको प्रयोग हुँदैन । आवाज नआउने र अन्य मेकानीकल पार्टपुर्जा एकदमै कम हुने भएको कारण यसको राइडिङ सधै स्मुद हुन्छ ।
कम मर्मत लागत
पेट्रोलबाट चल्ने मोटरसाइकलको तुलनामा, इलेक्ट्रीक मोटरसाइकलमा कम स्पेयर पार्टस प्रयोग हुन्छ । इन्जिन आयल, स्पार्क प्लग, इन्धन फिल्टर लगायतका पार्टस नहुनाले पेट्रोल मोटरसाइकलको तुलनामा सर्भिसिङ खर्च निकै कम हुन्छ । इलेक्ट्रीक मोटरसाइकलमा टायर, ब्रेक, चेन र विद्युतीय प्रणालीमा ध्यान दिँदा पुग्छ ।
पावर पर्फमेन्समा कुनै घटबढ हुँदैन
इलेक्ट्रीक मोटरले तुरुन्तै पीक टर्क प्रदान गर्छ । ईभी चलाउने प्रायः सबै यसलाई अनुभव गर्छन् । मोटरसाइकलमा थ्रोटल लिने बित्तिकै प्रभावशाली एक्सेलेरेशन पाउन सकिन्छ । यसले चालकलाई धेरै फरक र रोमाञ्चक राइडिङ प्रदान गर्छ ।
उत्कृष्ट सुरक्षा र सुविधा
प्रायः सबै इलेक्ट्रीक मोटरसाइकलहरू नयाँ र आधुनिक प्लेटफर्ममा बनाइएका हुन्छन् । सुरक्षालाई मध्येनजरमा राखेर सुविधा फिचरहरूको लामो लिस्ट प्रयोग भएको हुन्छ । साथै, एड्भान्ससँगै कारमा पाइने आधुनिक फिचर इलेक्ट्रीक मोटरसाइकलमै पाइन्छ ।

विद्युतीय मोटरसाइकलका फाइदा मात्रै छैनन् । उत्तिकै बेफाइदा पनि छन् । त्यसलाई यस प्रकार चर्चा गर्न सकिन्छ ।
पेट्रोल मोटरसाइकलको तुलनामा धेरै महँगो
विद्युतीय मोटरसाइकलहरू प्रायः पेट्रोलबाट चल्ने मोटरसाइकलहरू भन्दा कम्तीमा २० देखि ३० प्रतिशतसम्म महँगा हुन्छन् । यदि तपाईं कुनै इलेक्ट्रीक मोटरसाइकल किन्दै हुनुहुन्छ भने, तपाईंले सुरूमा धेरै बढी रकम तिर्नुपर्ने हुन्छ ।
रिसेल भ्यालु कम
केही वर्षको प्रयोगपछि आफ्नो इलेक्ट्रीक मोटरसाइकल बेच्न चाहनेले निकै कम पैसा पाउने छन् । यदि तपाईंको अपेक्षा पेट्रोल मोटरसाइकलको जस्तै रिसेल भ्यालु हो भने त्यो कहिल्यै पाउन सकिँदैन । इलेक्ट्रीक मोटरसाइकल वा स्कुटरको मुख्य पार्टस भनेको ब्याट्री हो । त्यसैले जति पुरानो भयो त्यति नै कम मूल्य आउँछ ।
सीमित ड्राइभिङ रेन्ज
नेपालमा धेरैजसो विद्युतीय मोटरसाइकलहरू १०० किलोमिटरभन्दा कम रेन्ज दिने खालका छन् । कम्पनीहरूले १०० भन्दा बढी दाबी गरे पनि सडकमा कम नै रेन्ज आउँछ । २०० सीसीभन्दा कमका धेरैजसो पेट्रोल मोटरसाइकलहरू फुल ट्याङ्कीमा ५०० किलोमिटरसम्म दौडन्छन् । इलेक्ट्रीक मोटरसाइकलमा भने घरबाट निस्किनु अघि रेन्जको गणना गर्नुपर्ने बाध्यता छ ।

चार्ज गर्न धेरै समय लाग्ने
पेट्रोल मोटरसाइकलहरूले फुल ट्याङ्कीमा बढी रेन्ज मात्र दिँदैनन्, पेट्रोल सकिँदा भर्नको लागि केही मिनेट छुट्याउँदा पुग्छ । इलेक्ट्रीक मोटरसाइकलमा त्यस्तो हुँदैन । तपाईंले आफ्नो ब्याट्रीको स्थिति अनुसार आफ्नो यात्राको योजना बनाउनु पर्नेछ । चार्ज सकिएपछि नर्मल प्लगबाट ब्याट्री चार्ज गर्नका लागि कम्तिमा पनि ३ घण्टा लाग्नेछ ।
चार्जिङ पूर्वाधार
इलेक्ट्रीक मोटरसाइकलमा मूख्य समस्या भनेकै चार्जिङ पूर्वाधारको अभाव हो । इलेक्ट्रीक मोटरसाइकलको लागि कारहरूको जस्तो चार्जिङ स्टेशन बनाइएको छैन । इलेक्ट्रीक मोटरसाइकल आफ्नै घरमा चार्ज गर्नुको विकल्प छैन । त्यसैले इलेक्ट्रीक मोटरसाइकलमा लामो यात्रा सम्भव नै छैन ।


